आर्थिक

कोरोना महामारीका कारण पौने २ खर्बको क्षति, आर्थिक वृद्धि न्युन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २९ गते १९:५४
कोरोना महामारीका कारण पौने २ खर्बको क्षति, आर्थिक वृद्धि न्युन (भिडियोसहित)

२९ असार, २०७७ काठमाडौं । सरकारको प्रारम्भिक अध्ययनले कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा झण्डै पौने दुई खर्ब रुपैयाँको क्षति भएको देखाएको छ ।

अध्ययन अनुसार होटल रेष्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रमा सबैभन्दा बढि क्षति भएको छ । सरकारले अनुमान गरेको २ दशमलव ७ प्रतिशत भन्दा कम आर्थिक वृद्धि हुने पनि अध्ययनको निष्कर्ष छ ।

कोरोना भाइरस संक्रमणका कारण देशको व्यापार व्यवसाय ठप्प हुँदा १ खर्ब ६८ अर्ब रुपैयाँ भन्दा धेरैको क्षति भएको नेपाल राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । गभर्नर महाप्रसाद अधिकारीले संसदको अर्थ समितिमा जानकारी गराए अनुसार कुल गार्हस्थ उत्पादनमा डेढ अर्बभन्दा बढि क्षति भएको छ। गभर्नरले पेश गरेको अनुमान अर्थमन्त्री डाक्टर युवराज खतिवडाको भन्दा कम हो ।

अर्थमन्त्री खतिवडाले कोरोनाले ३ खर्ब रुपैयाँभन्दा बढिको क्षति भएको बताउँदै आउनु भएको छ । राष्ट्र बैंकको अध्ययनले होटल रेष्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रमा सबैभन्दा बढी क्षति भएको देखाएको छ । यसले सरकारले आंकलन गरेको २ दशमलव २७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य भेटिने संभावना छैन ।

कोरोना देखिए पछि चैत ११ गतेदेखिको लकडाउन जेठ मसान्तसम्म कायम रह्यो । असार १ गतेदेखि लकडाउन केही खुकुलो भयो र अहिले आर्थिक क्रियाकलाप हुन थालेको छ । तर अध्ययनले लकडाउन खुलेपछि पनि कतिपय उद्योग व्यवसाय १ वर्षसम्म पनि सामान्य अवस्थामा फर्किन नसक्ने देखाएको छ ।

महामारीकै कारण कर्जा माग न्यून हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । चैतदेखि बैंकिङ क्षेत्रमा १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । लकडाउनको अवधिमा १७ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । त्यसैले कोरोना महामारीबाट सिर्जित यस्तै समस्या न्यूनिकरण गर्ने गरी मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

कोरोनाका कारण सबैजसो क्षेत्र प्रताडित छन् । बजेटमार्फत सरकारले पर्यटन, उद्योग व्यवसाय, कृषि लगायतका क्षेत्रलाई राहतका कार्यक्रम ल्याएपनि यातयातजस्ता क्षेत्र भने अहिले पनि राहातको पर्खाइमा छन् ।

यस्तै ब्याज तिर्न नसक्ने अवस्थामा रहेका व्यवसायी समेत मौद्रिक नीतिकै आश गरेर बसेका छन् । त्यसैले राष्ट्र बैंकले वित्तीय श्रोत साधनको अधिकतम परिचालन गर्ने गरी अर्थतन्त्रलाई त्राण दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *