Political Hightlights

आन्तरिक विवाद समााधन गर्न नेकपा स्थायी कमिटी असफल भएकै हो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २४ गते २०:११
आन्तरिक विवाद समााधन गर्न नेकपा स्थायी कमिटी असफल भएकै हो ? (भिडियोसहित)

२४ असार, २०७७ काठमाडौं । करिब ६ महिनापछि बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको चालू स्थायी कमिटी बैठकले समस्या समाधान गर्नुको साटो नयाँ नयाँ समस्या सिर्जना गर्न थालेको छ ।

पछिल्लो पटक बैठक बोलाउँदै स्थगित गर्ने क्रम चलिरहेको छ । दुइ अध्यक्षबीचको लडाइमा स्थायी कमिटी बैठक निरन्तर प्रभावित भएको छ । यसले स्थायी कमिटीका सदस्यमा चिन्ता थपेको छ ।

चर्को दबाब र मागका कारण झण्डै ६ महिनापछि सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक बस्यो । असार १० गते बैठक शुरु हुँदा स्थायी कमिटी सदस्यहरु उत्साहित थिए । तर समस्या समाधानका लागि भनेर बोलाइएको बैठकको शुरुमै बबण्डर भयो ।

उद्घाटनकै दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ माधवकुमार नेपालसँग आरोप प्रत्यारोप भयो । पार्टीका शीर्ष नेता नै समस्या समाधान गर्नतर्फ भन्दा पनि एकले अर्कोलाई देखाइदिने भन्दै कठोर रुपमा प्रस्ततु भए । परिणाम स्थायी कमिटी बैठक त्यसको शिकार भयो ।

यसले स्थायी कमिटी सदस्यहरु चिन्तित भएका छन । केही हुन्छ कि पार्टी फूटबाट जोगिन्छ कि भन्ने आशमा यो पनि सहन तयार छन । तर पार्टी नेतृत्वले समस्याको बोध नगरेको भने उनीहरुलाई लागेको छ ।

दुई अध्यक्षलाई समय दिएर बैठक स्थगित गर्न स्थायी कमिटी सदस्य पटक पटक तयार भए । तर, आधा महिना भइसक्यो समस्या जस्ताको तस्तै छ, दुई अध्यक्षबीच अझै कुरा मिल्न सकेको छैन । यस्तो अवस्थामा झन समस्या बल्झिने हो कि पनि कतिपयलाई चिन्ता छ ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार बैठक सार्दा विभिन्न शक्ति परिचालित भएर स्थिति बिग्रने र अनिर्णयको बन्दी बन्नसक्ने खतरा छ ।

यो बीचमा दुई अध्यक्ष ओली र प्रचण्डबीच पटक(पटक छलफल भएपनि ठोस निष्कर्ष निकस्न सकेको छैन । ओलीलाई दुवै पद छाड्न लगाउने प्रचण्ड–नेपाल समुहको योजना र दुवै पद नछाड्ने ओलीको अडानको कारण बल्झिएको समस्या अब प्रधानमन्त्रीको राजिनामामा गएर अड्केको छ । तर कुरा मिल्न सकेको छैन ।

यसले एकातिर स्थायी कमिटी स्थगन भएर सदस्यहरुमा फ्रस्टेशन बढ्दो छ, भने अर्कोतिर केन्द्रीय कमिटी बैठकको माग पनि बलियो हुँदै जान थालेको छ । यस्तो अवस्थामा अनिर्णयको बन्दी भएको नेकपा भित्रको अन्तरविरोध कसरी अघि बढ्छ प्रष्ट छैन, तर विभाजनको संघारमा पुगेको नेकपाको स्थायी कमिटी बैठकलाई दुवै पक्षले शक्ति सन्चय र एक अर्का विरुद्ध तयारी गर्ने अवसरमा रुपमा लिने अवस्था त्यत्तिकै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्