Political Hightlights

नेकपाको विवादः पार्टी ठुलो कि सरकार ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २१ गते २०:१६
नेकपाको विवादः पार्टी ठुलो कि सरकार ? (भिडियोसहित)

२१ असार, २०७७ काठमाडौं । नेकपामा विवाद चर्किरहँदा पार्टी ठुलो कि सरकार भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थायी कमिटीको निर्णय नमान्ने बताएपछि विधि र पद्धतिलाई लिएर प्रश्न उठेको हो । नेपालका कम्युनिष्ट नाम गरेका दलले अहिलेसम्म सरकारलाई पार्टीले चलाउँछ भन्दै आएका छन् । तर नेकपामा भने त्यसको उल्टो हुन थालेको छ ।

सत्ता संचालन गरिरहेको नेकपामा अहिले विधि प्रक्रिया र कमिटीगत निर्णयको अर्थ हुन छाडेको छ । संसारमै कम्युनिष्ट नाम गरेका पार्टीमा व्यक्ति पुजा नौलो होइन तर नेपालका कम्युनिष्ट पार्टीले लोकतान्त्रिक धार समाएको लामो समय वितिसकेको छ । व्यक्ति प्रधान भएका पार्टीमा पनि कमिटिगत निर्णयको ठुलो महत्व हुन्छ ।

पार्टी कमिटीमा अल्पमतमा पर्नासाथ नेतृत्व शक्तिहिन हुन्छ र बहुमत जुटाउने व्यक्ति शक्तिमा पुग्छ । नेपालका कम्युनिष्ट पार्टीमा पनि लामो समयदेखि यहि विधि चलिरहेको छ । तर अहिले नेकपाको विवादमा भने ठिक उल्टो भइरहेको छ । यहाँ पार्टी प्रणाली ओझेलमा परेको छ र राज्यको नेतृत्वमा रहेकाले नेकपा डोर्‍याउने अवस्था देखिएको छ ।

नेकपाको सबैभन्दा शक्तिशाली निकाय महाधिवेशन हो । तर यसको महाधिवेशन भएको छैन । त्यसपछिको शक्तिशाली निकाय केन्द्रीय कमिटी तत्काल बोलाउन संभव छैन । त्यसपछिको शक्तिशाली निकाय स्थायी कमिटी हो । यसअर्थमा अहिले स्थायी कमिटी नै नेकपाका लागि मार्गदर्शन गर्ने सबैभन्दा शक्तिशाली निकाय हो ।

नेकपाको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले स्थायी कमिटीमा स्पष्ट रुपमा अल्पमतमा पर्नुभएको छ । त्यति मात्रै होइन स्थायी कमिटीका बहुमत सदस्यले ओलीको राजिनामा समेत मागेका छन् । तर यसले प्रधानमन्त्रीलाई कुनै असर परेको छैन । स्थायी कमिटी भन्दा अझ उपल्लो निकाय सचिवालयमा पनि बहुमत सदस्य प्रधानमन्त्री ओलीको विपक्षमा छन् ।

सचिवालयका ९ मध्ये ६ जनाले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पद छाड्न दबाब दिइरहेका छन् । तर यी दबाबले अहिले कुनै काम गरेको छैन । ओली दुबै पद नछाड्ने अडानमा हुनुहुन्छ । उल्टो उहाँले स्थायी कमिटीका सदस्यलाई हुल्लडबाजको समुह भनेका खबर समेत सार्वजनिक भएका छन् ।

शनिबार बेलुका मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले आफुले स्थायी कमिटीको निर्णय नमान्ने स्पष्ट पारिसक्नुभएको छ । उहाँले अब कित्ताकाट गरेर आफुतिर लाग्ने वा पार्टीतिर भन्ने स्पष्ट पार्न समेत भन्नुभएको छ । ओलीका पछिल्ला क्रियाकलापले पार्टीको विधि, पद्दति र प्रणालीप्रति उहाँको अब कुनै विश्वास नभएको देखाउँछ । नेकपाको पछिल्लो समिकरणका कारण प्रधानमन्त्री ओली सचिवालय देखि केन्द्रीय कमिटीसम्म अल्पमतमा हुनुहुन्छ ।

यस्तो अवस्थामा पार्टीलाइ विश्वासमा नलिइ सहज रुपमा सरकार चलाउन सक्ने संभावना छैन । तर स्थायी कमिटीबाट राजीनामाका लागि निर्देशन आए बरु पार्टी नै फुटाएर अघि बढ्नेसम्मको उहाँको तयारीले धेरै प्रश्न जन्माएको छ ।

पार्टी निर्णय नमान्ने प्रधानमन्त्रीको हठका पछाडी कुन शक्ति छ भनेर अहिलेसम्म स्पष्ट हुन सकेको छैन । पार्टी फुटाउने धम्की दिएर तत्कालका लागि प्रधानमन्त्री पद बचाउन सफल भए पनि ओलीका लागी आगामी दिन सहज हुने देखिदैन ।

या त उहाँले समिकरण परिवर्तन गरेर पार्टीका कमिटीमा बहुमत पुर्‍याउनु पर्नेछ नत्र नयाँ पार्टी बनाउनुपर्नेछ । बहुमत पुर्‍याउन सके त उहाँ सत्ता र शक्तिमा रहिरहनुहुनेछ । तर नयाँ पार्टी बनाउने अवस्थामा भने उहाँले प्रधानमन्त्री पद गुमाउनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्