Political Hightlights

नेकपाको आन्तरिक विवादले राजनीतिमा तरङ्ग

हिमालय टिभी
२०७७ असार १८ गते २०:१०
नेकपाको आन्तरिक विवादले राजनीतिमा तरङ्ग

१८ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवादले आज नेपाली राजनीतिमा ठूलै तरंग ल्याइदिएको छ । नेकपा नेताहरुको आज विहानैदेखि खुमलटार, बालुवाटार र शीतल निवासमा म्याराथन नै चल्यो । आज विहानदेखि साँझसम्म नेकपामा के के भयो भन्ने समेट्न खोजेका छौं ।

खुमलटारमा छलफल
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एव‌ प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका नेतासँग आफ्नै निवासमा छलफल गर्नुभयो । यो छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

सहभागी नेताले वार्ताका माध्यमबाट विवाद समाधान गर्न प्रचण्डलाई सुझाव दिए । तर प्रचण्डले ओलीबाट आफ्नो बारम्बार अपमान भएको जानकारी दिँदै आफू पहिले झै सहन सक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभयो । तर पार्टी एकता जोगाउन आफू लाग्ने वचन दिँदै ओलीलाई सम्झाउन सुझाव दिनुभयो ।

बालुवाटारमा बबण्डर
छलफलपछि सबै नेता स्थायी कमिटी बैठकका लागि ११ बजे बालुवाटार पुगे । प्रचण्ड सहितका नेताहरु स्थायी कमिटी बैठकमा लाग्दा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्टपतिलाई सिफारिस गर्नुभयो ।

त्यो निर्णय लगत्तै राष्ट्रपतिले ५ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नुभयो । राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको सूचना निकाल्दै गर्दा राष्ट्रिय सभा बैठक बसिरहेको थियो । यो सूचना स्थायी कमिटी बैठकमा पुगेपछि स्थिति गम्भीर बन्यो । अप्रत्यासित निर्णयपछि नेकपा स्थायी कमिटी बैठक पनि बस्न सकेन ।

शीर्ष नेताबीच छलफल
संसद अधिवेशन अन्त्य गरी दल विभाजनको अध्यादेश ल्याउने बाटो खोलेर अरु नेताको टाउकोमाथि तरबार झुण््याएपछि ओली स्थायी कमिटी बैठकमै जानु भएन । त्यसपछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, विष्णु पौडेल लगायतका नेता ओलीलाई भेट्न गए ।

र, केही समय वार्ता भयो । पूर्व सहमति भंग गरेकोमा प्रचण्डले असन्तुष्टि व्यक्ति गर्नुभयो । तर ओलीले मन्त्रिपरिषद बैठक आप्नो क्षेत्राधिकार भएको जवाफ दिनुभयो । यसले स्थिति अझ जटिल बन्यो । प्रचण्ड लगायतका नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेशको विषय पनि उठाए तर ओलीले त्यस्तो होईन भनेर जवाफ दिनुभयो । तर ओलीमाथि गम्भीर आशंका गर्दै नेताहरु फर्के र स्थायी कमिटी बैठक बस्यो ।

प्रचण्ड शीतल निवास जाने निर्णय
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली र राष्टपति विद्यादेवी भण्डारीको भूमिकामाथि गम्भीर आशंका व्यक्त भयो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र त्यसमा राष्टपतिले साथ दिने आँकलन भयो । यो अवस्था रोक्न राष्टपतिलाई दबाब दिने निर्णय स्वरुप प्रचण्ड शीतल निवास जानुभयो । र, पार्टी फूटाउने काममा नलाग्न सचेत गराउनुभयो ।

प्रचण्ड फर्केपछि फेरि स्थायी कमिटी बैठक
प्रचण्डले शीतलनिवासबाट फर्केपछि आफूले अध्यादेश आएमा रोक्न राष्टपतिलाई भनेको ब्रिफिङ गर्नुभयो । उहाँका अनुसार राष्टपति भण्डारीले त्यस्तो अवस्था आउँदैन मिलेर जानुस भनेर सुझाव दिएको पनि प्रचण्डले जानकारी दिनुभयो । तर प्रचण्ड राष्टपतिको आश्वासनमा विश्वस्त नरहेको स्रोतले जनाएको छ ।

पार्टी संकटमा परेको निष्कर्ष
प्रचण्ड शीतल निवासबाट फर्केपछि बसेको बैठकले पार्टी गम्भीर संकटमा परेको निष्कर्ष निकाल्दै पर्सिसम्मका लागि बैठक स्थगित गर्यो । ओलीकै कारण समस्या आएको बैठकको निष्कर्ष छ । बैठकले एकताका पुराना अधिकार भत्केको र नयाँ आधारमा एकता जोगाउन पहल गर्ने निर्णय गर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्