Political Hightlights

भारतसँग वार्ता गरेर भूमि फिर्ता ल्याउन नेकपा स्थायी कमिटी सदस्यहरुको सुझाव

हिमालय टिभी
२०७७ असार १२ गते १८:२४
भारतसँग वार्ता गरेर भूमि फिर्ता ल्याउन नेकपा स्थायी कमिटी सदस्यहरुको सुझाव

१२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यले भारतसँग प्रभावकारी ढंगले वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारलाई सुझाव दिएका छन ।

नेकपा स्थायी कमिटी बैठकमा बोल्दै नेताहरुले सरकारले अहिलेसम्म गरेको प्रयास सकारात्मक भन्दै थप प्रभावकारी बनाउन र भूमि फिर्ता ल्याउन भनेका हुन । उनीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेकमात्रै होईन, अरु क्षेत्रको पनि सीमा समस्या समाधान गर्न भनेका छन ।

नेकपाका नेताहरुले भारतीय हस्तक्षेपको चर्को विरोध गरेका छन । नेताहरुले सरकारले गरेको प्रयास सकारात्मक भएपनि अझै नपुगेको टिप्पणी पनि गरेका छन । उनीहरुले उत्तेजित नभई कुटनीतिक ढंगले भूमि फिर्ता ल्याउने काम गर्नुपर्नेमा जोड दिएका छन ।

कतिपय नेताले भारतसँगको सीमा क्षेत्रमा तारबार गर्नुका साथै राहदानी लागू गर्न पनि माग गरेका छन । प्रवुद्ध व्यक्ति समूह समूह ईपीजीको प्रतिवेदन नबुझेकोमा पनि नेकपाका नेताहरुले भारतको आलोचना गरेका छ । प्रतिवेदन बुझ्नका लागि दबाब दिन पनि उनीहरुले सरकारलाइ आग्रह गरेका छन ।

बैठकमा आज प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदीप ज्ञवाली, लिलामणि पोखरेल, मात्रिका यादव, बेदुराम भुसाल, गोकर्ण बिष्ट, रघुवीर महासेठ, अमृत बोहरा, पम्फा भुसाल सहित १८ जना नेताले बोलेका छन । सीमा समस्याबारे बोल्न १० मिनेटको समय दिइएको छ । भोलि पनि सीमा समस्याबारे छलफल हुनेछ ।

वार्ताप्रति भारत सकारात्मक भएनः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा विवाद समाधानका लागि भारत सकारात्मक नभएको पार्टीमा जानकारी गराउनुभएको छ ।

नेकपा स्थायी कमिटीको बैठकमा मन्त्री ज्ञवालीले स्थायी कमिटी बैठकमा सीमा विवादबारे ब्रिफिङ गर्नुभएको हो । पटक पटक वार्ताका लागि पहल गरेपनि भारतले वेवास्ता गरेको मन्त्री ज्ञवालीले बताउनुभएको छ । नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेपनि भारत वार्ताका लागि सकारात्मक नदेखिएको बताउनुभएको हो ।

मन्त्री ज्ञवालीका अनुसार नेपालले नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताको प्रस्ताव गरेको थियो । यद्यपि भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको परराष्ट्रमन्त्रीले जानकारी गराउनुभएको छ ।

मन्त्री ज्ञवालीले चीनसँग सीमाबारे कुनै समस्या नभएको पनि बैठकमा जानकारी गराउनुभएको छ । चीनसँग सीमा समस्या नभएको भनेर सरकारले हिजो विज्ञप्ति निकालेर औपचारिक रुपमै जानकारी गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्