विदेशी बुहारीलाई विवाह गरेको सात वर्षपछि मात्र अंगीकृत नागरिकताः नेकपा
६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा उभिने भएको छ ।
आज बिहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटाएको हो ।
विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर सचिवालय बैठकले बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने निर्णय गरेको छ ।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिएन । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनाएको छ ।
प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस नेताहरुसँग विधेयकको विषयमा बिहीबार छलफल गर्नुभएको थियो । शुक्रबार राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल गरेपछि सचिवालयको बैठक बोलाइएको थियो ।
प्रतिक्रिया