Political Hightlights

पटकपटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक आज

हिमालय टिभी
२०७७ असार ६ गते ८:५६
पटकपटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक आज

६ असार, २०७७, काठमाडौं । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको बैठक आज फेरि बोलाइएको छ ।

अहिले केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमा केन्द्रित हुनेछ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ ।

पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ ।

पछिल्लो पटक असार ३२ मा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो । सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको बुझिएको छ ।

तर उहाँले असार ४ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनासँगै अमेरिकी सेना पनि नेपाल आउने भनेर गलत हल्ला फिजाइएको बताउनु भएको थियो ।

स्थायी कमिटि बैठक बस्नु अघि एमसीसीका बारेमा सचिवालयमा छलफल हुन लागेको हो । नेकपाले आगामी असार १० गते स्थायी कमिटि बैठक बोलाएको छ । बैठकमा नागरिकता विधेयकका बारेमा पनि छलफल हुने नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्