सरकारले तोक्यो धानको समर्थन मूल्य

३ असार, २०७७ काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ। हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले धानको समर्थन मूल्य तोकेको हो ।
कृषि मन्त्रालयको सिफारिस र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तय गरिएको हो। यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकिएको छ।
नेपालमा पहिलो पटक बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विज्ञ टोलीले मूल्य प्रस्तावित गरेको थियो।
संरक्षित कृषि, सुनिश्चित बचत अन्तर्गत बाली लगाउनु पूर्व नै समर्थन मूल्य तोक्ने कुरालाई कार्यान्वयन गर्दै यस वर्ष लगाइने धानको मूल्य प्रस्तावित गरिएको कृषि मन्त्रालयले जनाएको छ।
मन्त्रालयको अनुसार खेतीको सबै लागत खर्चमा २० प्रतिशत नाफा र १० प्रतिशत ढुवानी भाडा जोडेर मूल्य तोकिएको हो। अब सबै मुख्य बालीको क्रमशः खेती अघि नै न्युनतम समर्थन मूल्य तोकिने मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया