म्याच फिक्सिङको आरोपमा कप्तान थापासहित पाँच जनाले पाए सफाइ
२ असार, २०७७ काठमाडौं । म्याच फिक्सिङको आरोपमा निलम्बनमा परेका राष्ट्रिय फूटबल टिमका कप्तान सागर थापासहित पाँच जनालाई सर्वोच्च अदालतले सफाई दिएको छ ।
न्यायाधीशहरु डाक्टर आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले पूर्व कप्तान थापासहितका आरोपितलाई सफाई दिएको हो ।
राष्ट्रिय टिमले खेलेका खेलमा मिलेमतो गरेर राज्यविरुद्धको अपराध गरेको भन्दै पूर्व कप्तान थापा, गोलकिपर रितेश थापा, डिफेन्डर सन्दिप राई, विकास सिंह क्षेत्री र अञ्जन केसीविरुद्ध मुद्धा दायर भएको थियो ।
नेपालमा खेल मिलेमतोसम्बन्धी कानुन नै नभएको अवस्थामा सर्वोच्चले सजायँको स्पष्ट ब्यवस्था नभएको र अभियोग लगाएको जस्तो आधार र कारणसमेत नभेटिएको भन्दै विषेश अदालतको फैसलालाई सदर गरेको हो ।
दुई वर्षअघि यो मुद्धामा विषेश अदालतले सबै आरोपितलाई निर्दोश घोषित गरेको थियो । खेल मिलेमतोमा संलग्न भएको आरोपमा अखिल नेपाल फुटबल संघले पाँचै जनालाई पाँच वर्षअघि फुटबलबाट प्रतिबन्ध लगाएको थियो ।
यस्तै एसियाली फुटबल महासंघले पनि उनीहरुमाथि प्रतिबन्ध लगाएको छ । खेलाडीले भने आफूहरु निर्दोश रहेको बताउँदै आएका थिए ।
प्रतिक्रिया