आर्थिक

लकडाउनको मोडालिटी परिवर्तन गरेर सार्वजनिक यातायात चलाउन माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २७ गते २०:१४
लकडाउनको मोडालिटी परिवर्तन गरेर सार्वजनिक यातायात चलाउन माग (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । यातायात व्यवसायीले लकडाउनको मोडालिटी परिवर्तन गरी सार्वजनिक यातायात चल्ने वातावरण बनाउन माग गर्दै आएका छन् । व्यवसायीले सार्वजनिक यातायात चलाउन दबाब दिइरहेका बेला सरकारले पनि यातायात सञ्चालनका मापदण्डबारे छलफल गरिरहेको छ ।

लकडाउन खुकुलो बनाउनुपर्ने माग बढ्दै जाँदा यातायात व्यवसायीले पनि जेठ ३२ गतेपछि यातायात सेवा खोल्न माग गर्दै आएका छन् । पछिल्लो समय लकडाउनको अवज्ञा हुन थालेपछि यातायात व्यवसायीले पनि सरकारमाथि दबाब बढाएका छन् ।

लामो समयदेखि यातायात ठप्प हुँदा आफुहरु समस्यामा परेको भन्दै व्यवसायीले सार्वजनिक यातायात सञ्चालनमा ल्याउन माग गरेका छन् । यद्यपी लकडाउनका कारण आफूहरु थला परिसकेकाले यातायात सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धि आवश्यक सामग्रीको व्यवस्था सरकारले नै गरिदिनु पर्ने उनीहरुको माग छ ।

नेपालमा ९३ प्रतिशत नागरिकले आवतजावतका लागि सडक यातायातको प्रयोग गर्छन । यातयात क्षेत्रमा १० लाखले रोजगारी पाएको र करिब ४० लाख आश्रित परिवार रहेको अनुमान छ । सरकारले पनि लकडाउन खुकुलो हुँदा यातायात कसरी सञ्चालन गर्न सकिन्छ भनेर मापदण्डबारे छलफल गरिरहेको छ ।

यातायात व्यवस्था विभागले लकडाउनपछि सवारी साधन जोखिममुक्त बनाउनका लागि निर्देशिका तयार पारिरहेको छ । सवारीसाधन चलाउँदा आधा क्षमतामा मात्र यात्रु चढाउन पाइने, लाइनमा भौतिक दुरी बनाएर मात्रै चढ्ने र ओर्लने गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने जस्ता विषय समेटेर निर्देशिका बनाइरहेको विभागले बताएको छ ।

यीबाहेक निर्देशिकामा ढोकामा स्यानीटाइजर राख्नुपर्ने, यात्रुको बीच दुरी कायम हुने गरी सिट व्यवस्थापन गर्नुपर्ने जस्ता मापदण्ड पनि बनाइएको छ । भाडा तिर्ने क्रममा समस्या हुन सक्ने भएकाले वैकल्पिक उपाएबारे छलफल गरिरहेको विभागले जनाएको छ ।

जेठ ३२ पछि सार्वजनिक यातायात सञ्चालन हुने नहुने अहिलेसम्म टुङ्गो लागेको छैन । यसबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ । आवतजावतका लागि ९३ प्रतिशत जनसंख्याले प्रयोग गर्ने सडक यातायात कोरोना संक्रमणका हिसाबल‍े सबैभन्दा संवेदनशिल क्षेत्र हो । त्यसैले उच्च स्वास्थ्य सावधानी बिना सार्वजनिक यातायात सञ्चालनमा हतारो भने गर्नुहुँदैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *