देश २ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँ व्यापार घाटामा
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । आयात बढेको र निर्यात घटेका कारण गत आर्थिक वर्षमा १३ खर्ब २१ अर्ब रुपैयाँ ब्यापार घाटा व्यहोेरेकै थियो । जसका कारण देशको सोधान्तर स्थिति ९ वर्षपछि पहिलो पल्ट घाटामा गएको हो ।
विश्वका विभिन्न देशसँगको कारोबारमा यति बेला मुलुक मुलुक २ खर्ब ६५ अर्ब रुपैयाँ घाटामा छ । यो कसैले हचुवाका भरमा दिएको तथ्यांक होइन, मुलुकको केन्द्रीय बैंकले सार्वजनिक गरेको औपचारिक जानकारी हो । राष्ट्र बैंकले ुदेशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिु मा चालु खाता २ खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको देखाएको छ । मुलुक भित्रिने र बाहिरीने विदेशी मुद्राको अन्तरले चालु खातालाई परिभाषित गर्छ ।
यो अन्तर जति कम भयो, मुलुकको घाटा उति नै कम हुन्छ । घाटा कम गर्न मुलुकले विदेशी मुद्रा कमाउनुपर्छ । विदेशी मुद्रा कमाउने मूल आधार चार वटा छन् । निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिट्यान्स र पर्यटन ।
गत वर्ष ९७ अर्बको वस्तु तथा सेवा निर्यात हुँदा १४ खर्ब १८ अर्बको आयात भयो । यो असन्तुलनले व्यापार घाटा १३ खर्ब २१ अर्ब नाघ्यो । अत्याधिक आयातकै कारण गत वर्ष शोधनान्तर स्थिति समेत घाटामा रह्यो ।
आर्थिक वर्ष २०७४/७५ मा ९६ करोड रुपैयाँ बचत रहेको शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा पुगेको छ। आयात बढेका कारण विदेशी मुद्रा सञ्चिती समेत घटेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब २ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सन्चिति रहेकोमा गत वर्ष घटेर १० खर्ब ३८ अर्बमा झरेको छ । मुलुकभित्र भएको विदेशीमुद्रा सन्चितिले ७ महिना ८ दिनसम्मको आयात मात्र धान्न सक्छ ।
गत वर्ष १७ अर्ब ५१ करोड वैदेशिक लगानी भित्रिएको छ । लगानीको वातावरण बन्दै गएको भनी प्रचार गरिए पनि त्यसको अनुपातमा न्यून मात्र वैदेशिक लगानी उत्पादन, सेवा, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा भित्रिएको छ ।
घाटा कम गर्न मुलुकले विदेशी मुद्रा कमाउने मेरूदण्ड हो रेमिट्यान्स । रोजगारीमा विदेशिने नेपालीको संख्यामा घटेपनि रेमिट्यान्स भने बढेको छ । एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३२।६ प्रतिशतले घटे पनि रेमिट्यान्स भने १६।५ प्रतिशतले बढेको छ । गत वर्ष ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको छ । डलरको भाउमा वृद्धि र पढ्न विदेश गएकाहरुको योग्दान बढेसँगै रेमिट्यान्स बढेको हो ।
मुलुकको अर्को आधार हो पर्यटक । गत वर्ष पर्यटक आगमन २४ प्रतिशतले बढेर १२ लाख ३८ हजार पुगेको छ । यद्यपी कुल वैदेशिक मुद्रा आर्जनमा पर्यटकले दिएको योग्दान यकिन हुँदैन।
अर्थतन्त्रका धेरैजसो सुचकांक नकारात्मक रहँदा रहँदै पनि मुलुकले लगातार उच्च आर्थिक बृद्धि हासिल गरेको छ । राष्ट्र बैंकले गत वर्ष ७।१ प्रतिशतको आर्थिक वृद्धि भएको जनाएको छ । चुलिँदै गएको आयातले आर्थिक संकट चुलिँदै गएको मात्रै भने देखाउँदैन् ।
पेट्रोलियम पदार्थ, मेसिनरी सामान र तिनका पार्टपुर्जा, डोजर, स्काभेटरजस्ता ठूला सवारीसाधन,औद्योगिक कच्चा पदार्थ आयात भइरहेको छ । यस्ता बस्तुको आयातले पूर्वाधार विकासका क्षेत्रमा ठूलो लगानी भइरहको भन्ने देखाउँछ जसले भविष्यमा नतिजा दिन्छ।
विनोद आचार्य
प्रतिक्रिया