Political Hightlights

आफ्नालाई च्याप्ने विरोधीलाई सेक्ने प्रधानमन्त्रीको रणनीति (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २० गते १९:५८
आफ्नालाई च्याप्ने विरोधीलाई सेक्ने प्रधानमन्त्रीको रणनीति (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमणलाई लिएर विरोधीमाथि खनिनु भएको छ । कोरोना संक्रमण न्यूनिकरणका लागि आवश्यक सहयोग नपाएको गुनासो गर्ने ओलीले आफ्नो पक्षमा जुलुसै निस्किए पनि त्यसलाई भने अनदेखा गर्दै आउनु भएको छ ।

प्रधानमन्त्रीले भनेझै ४ सय ५० जना रहेको केन्द्रीय कमिटी बैठक बोलाउँदा कोरोना संक्रमणको जोखिम बढ्छ । यसमा कुनै विवाद छैन, बैठक बोलाउने नबोलाउने त्यो नेकपाको कुरो हो ।

तर के प्रधानमन्त्री ओलीले कोरोना संक्रमणकै जोखिमका कारण त्यसो भन्नु भएको होला त ? प्रश्न उब्जिएको छ ओलीको कथनी र करणीले मेल नखाने अनेकौं उदाहरणले त्यो ठाउँ दिएको छ । त्यसका लागि धेरै टाढा जानुपर्दैन, एक महिना अघिकै दृश्यले नै सबै बताउँछ ।

यी दृश्य असार तेस्रो हप्ताका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र, प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताको विरोधमा देशका ठाउँ ठाउँमा यसरी जुलश निकालिएको थियो । कोरोनाको जोखिम अहिले पनि छ र त्यतिबेला पनि थियो ।

किनकी प्रधानमन्त्री ओलीको पक्षमा निस्केको जुलुशबाट पनि कोरोना संक्रमण फैलिने जोखिम थियो । दृश्यले त्यही भन्छ । तर अरुको उछितो काढ्ने प्रधानमन्त्री ओली आप्नो पक्षमा निस्केको जुलुशका बारेमा भने बोल्नुहुन्न ।

त्यतिबेलै कार्यकारी अध्यक्ष प्रचण्डलगायतका नेताले आफू सहितका नेताविरुद्धको प्रदर्शन रोक्न ओलीलाई आग्रह गर्नुभयो । तर सुनुवाई भएन । बरु असार अन्त्यसम्म ओलीलाई हटाउन पाइँदैन, राजिनामा माग्न पाइँदैन भनेर दिनहुँ जसो प्रदर्शन भयो ।

नेकपा भित्र ओलीका विपक्षीको कुरा मान्ने हो भने ओलीकै निर्देशनमा यो सबै भएको हो । जसमा युवा संघ र अनेरास्ववियूका नेताहरुलाई बोलाएरै निर्देशन दिने काम भएको थियो । ओली इतरका नेताहरुलाई प्रदर्शनकारीले भारतीय दलाल समेत भने।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असफल भयो भन्दै प्रदर्शन गर्नेप्रति अनेकौं प्रश्न उठाउने गरिएको छ । केहीदिन अघि प्रदर्शन गर्नेलाई प्रदर्शन स्थलमा पुग्नु अगावै प्रहरीले गिरफ्तार पनि गर्‍यो । तर प्रधानमन्त्रीको समर्थन गरेर सडकमा उत्रनेलाई भने सबै छुट दिने गरिएको छ। ओलीको समर्थनमा उत्रनेले संक्रमणबाट जोगिन न त सामाजिक दुरी पालना गरेका छन् न त अन्य मापदण्ड नै । तर यी विषयमा प्रधानमन्त्री ओली मौन हुनुहुन्छ ।

विरोधीप्रति आक्रामक ओलीले मंगलवार पनि यो विषयमा बोल्नुभएन । यसबाट ओलीले आफूले गरेका र आप्ना पक्षमा भए जति सबै ठीक अरुले गरे जति गलत भनेर जबरजस्त स्थापित गराउन खोजिरहनु भएको छ । तर प्रधानमन्त्रीले कोरोनाले कसैलाई पनि छाड्दैन भन्ने बुझ्न ढिला गर्न हुँदै हुन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्