आर्थिक

अर्थतन्त्रकाे जाेखिम घट्दै, सुधार हुँदै सूचक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १ गते २१:१४
अर्थतन्त्रकाे जाेखिम घट्दै, सुधार हुँदै सूचक (भिडियो रिपोर्टसहित)

१ भदौ २०७९ काठमाडौं । गत आर्थिक वर्षको सुरुवाती महिनादेखि नै मुलुकको अर्थतन्त्रको अधिकांश सूचकहरु निरन्तर ओरालो लाग्दा नेपाल पनि कतै श्रीलंका जस्तै संकटमा पुग्ने हो कि भन्ने चिन्ता बढेको थियो । तर पछिल्लो समय अर्थतन्त्र जोखिमै रहेपनि केही सूचकहरु क्रमशः सुधारिदै गएको छ । बढ्दो रेमिट्यान्स र घट्दो आयातले केही सुधारिएको अर्थतन्त्रको जोखिम भने टरिसकेको छैन ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति वार्षिक विन्दुगत आधारमा १३ दशमलव १ प्रतिशतले घटेपनि पछिल्लो दुई महिनामा सुधार हुँदै गएको छ । गत पुसमा ११ खर्ब ६५ अर्ब रुपैयाँ सम्ममा सीमित रहेको विदेशी मुद्राको सञ्चिति असार मसान्तसम्म आइपुग्दा १२ खर्ब १५ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको असार मसान्तमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ थियो ।

यस्तै जेठ मसान्तसम्म २ खर्ब ६९ अर्बले शोधनान्तर घाटा थियो । शोधनान्तर घाटा पनि केही सुधारिएर २ खर्ब ५५ अर्ब २६ करोड कायम भएको छ । तैपनि अघिल्लो वर्ष शोधनान्तर १ अर्ब २३ करोडले बचतमा थियो । बढ्दो रेमिट्यान्स र आयातमा गरिएको कडाईले अर्थतन्त्रका केही सूचकहरु सुधार हुँदै गएपनि लगाम छाडिहाल्न नमिल्ने अवस्था रहेको राष्ट्र बैंकको निश्कर्ष छ ।

अर्थतन्त्र सुधारोन्मुखतर्फ जानुमा रेमिट्यान्सले ठूलो भरथेग गरेको छ । गत आर्थिक वर्षमा १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । यो अघिल्लो वर्षको तुलनामा ४ दशमलव ४ प्रतिशतले बढी हो । तर अझै पनि मुलुकको चालू खाता ६ खर्ब २३ अर्ब रुपैयाँ घाटामा छ ।

यस्तै वार्षिक औषत मूल्यवृद्धि ६ दशमलव ३२ प्रतिशतमा सीमित राखेको देखिए पनि मासिक रुपमा भने वृद्धि हुँदै गएको छ । असारमा ८ दशमलव ८ प्रतिशत थियो । यो वृद्धि पछिल्लो ६ वर्षयताकै उच्च हो । यसअघि आर्थिक वर्ष २०७२–०७३ मा औसत मूल्यवृद्धिद्धर ९ दशमलव ९३ प्रतिशत थियो । आगामी दिनमा मूल्यवृद्धि अझै बढ्ने अनुमान छ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कूल कर्जाको वृद्धिदर १२ दशमलव ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । योसँगै २७ सय वस्तुको आयातमा कडाई गरेको छ । सुधारोन्मुख देखिएको अर्थतन्त्रलाई लयमा ल्याउने हो भने सरकार र राष्ट्र बैंकले गरेका नीतिगत प्रयासहरुलाई अझै केही महिना कायमै राख्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *