Political Hightlights

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, शीर्ष नेताहरु छलफलमा जुट्दै

हिमालय टिभी
२०७८ भदौ १४ गते ७:२७
मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, शीर्ष नेताहरु छलफलमा जुट्दै

१४ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज भोलिमा मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताबीच आज पुन बैठक बसी मन्त्रालय भागबण्डा मिलाउने तयारी भएको हो । सत्ता गठबन्धनका शीर्ष नेताबीच हिजो भएको छलफलमा मन्त्रालय भागवण्डा र शक्ति बाँडफाँटमा कुरा मिल्न सकेको थिएन ।
आज पुनः शीर्ष नेताबीच छलफल हुने र सकेसम्म आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ ।

यसका लागि सत्ता गठबन्धनमा आवद्व कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादबबीच आज पनि छलफल हुन लागेको हो ।

कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ वटा मन्त्रालय लिने प्रस्ताव गरिएको छ । तर एमाले विभाजन गरेर बनेको नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात सहित ६ वटा मन्त्रालय दाबी गरेको छ ।

तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसहित ५ वटासम्म मन्त्रालय दिन कांग्रेस तयार देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले मन्त्रालय बाँडफाँट समान हुनुपर्ने भन्दै ५ वटा दाबी गरेको छ ।

यसैगरी अर्थ र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधारसहित थप चार मन्त्रालय दाबी गरेको छ । मन्त्रालय भागबण्डासँगै उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने पनि टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्री देउवा उपप्रधानमन्त्री नराख्ने पक्षमा हुनुहुन्छ । आजको बैठकमा यी सबै विषयमा टुंगो लाग्ने सत्ता गठबन्धनका नेताहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्