Political Hightlights

एमाले कार्यदलमा अझै जुटेन सहमति, स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

हिमालय टिभी
२०७८ असार २७ गते १९:०५
एमाले कार्यदलमा अझै जुटेन सहमति, स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित

२७ असार २०७८ काठमाडौं । सत्तारुढ एमालेमा सहमति जुटाउन सकस परेको छ । विवाद मिलाउन भन्दै कार्यदलका सदस्य दिनभर छलफलमा व्यस्त छन् ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा चलिरहेको बैठकमा सहमतिको प्रयास जारी छ । सहभागी नेताहरुका अनुसार धेरै विषय मिलेका छन् तर केही अझै बाँकी छन् । कार्यदलका सदस्यले एक सातायता सहमतिको नजिक पुगेको दाबी गर्दै आएका छन् । तर निष्कर्ष निस्कन सकेको छैन ।

हरेक दिनजस्तो लगभग सहमति भइसकेको भनिए पनि मस्यौदामा हस्ताक्षर हुन सकेको छैन । यसअघि हिजो पनि सहमतिको मस्यौदा तयार पारिएको बताइएको थियो ।

मस्यौदामाथि छलफल गर्न नेपाल पक्षका कार्यदल सदस्य बिहान वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका थिए । मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै नेपालले फिर्ता पठाइदिनुभयो ।

अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले प्रष्ट पार्नुभएको छ । शब्दावली सच्याउने विषयमा कार्यदलमा छलफल भएपछि नेता घनश्याम भुसालले दिउँसो फेरि नेता नेपालसँग भेटेर बैठकमा फर्कनुभएको छ ।

सहमति जुटे लगत्तै स्थायी कमिटी बैठक बोलाएर दुवै पक्षले हस्ताक्षर गर्ने तयारी भएको नेताहरुले बताएका थिए । तर सहमति नजुट्दै अध्यक्ष केपी शर्मा ओलीले ४ बजे बालुवाटारमा बस्नेगरी स्थायी कमिटी बैठक आव्हान गर्नुभयो ।

नेपाल–खनाल समूहले आपत्ति जनाएपछि स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।

कार्यदल बैठक बसिरहँदा वरिष्ठ नेता नेपालले आफु निकट केन्द्रीय सदस्यसँग छलफल गर्नुभएको छ । छलफलमा सहभागी सदस्यका अनुसार नेपालले झुकेर सम्झौता नहुने प्रष्ट पार्नुभएको थियो ।

सर्वोच्च अदालतले संसद विघटनविरुद्धको मुद्धामा भोलीका लागि पेशी तोकेको छ । एमाले संस्थापन अदालतको फैसला अघि नै सहमति गरेर शन्देश दिन खोजिरहेको छ । नेपाल–खनाल समूह भने फैसलापछिको अवस्था हेर्ने पक्षमा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्