Political Hightlights

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

हिमालय टिभी
२०७७ भदौ २६ गते ७:१२
नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यस्ता छन् बैठकका एजेण्डा

२६ भदौ, २०७७ काठमाडौं । लामो समयदेखि प्रतिक्षारत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक आज बस्दैछ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचणडबीच बैठकका एजेण्डामा सहमति भएपछि स्थायी कमिटी बैठक बोलाइएको हो ।

पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा परिमार्जन गर्दै ओली र प्रचण्डले तीन महिना लामो पार्टी विवाद टुंग्याउने गरी १५ पेजको सहमतिको प्रस्ताव तयार पार्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठक एकै दिन सक्ने अध्यक्ष ओली र प्रचण्डको लक्ष्य छ भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बैठक एकैदिनमा नसकी बहस लम्ब्याउन चाहेको छ ।

धेरै बिषयमा छलफल गर्नुपर्ने र पार्टीभित्रको नीति र पद्धतिलाई आत्मसाथ गराउनका लागि धेरै विषयवस्तुमा छलफल गराउनुपर्ने भन्दै नेपाल पक्षले बैठक लम्ब्याउन चाहेको हो ।

प्रचण्डलाई कार्यकारी भूमिका स्पष्ट रूपमा दिइएको प्रस्तावमा पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।

ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुनुहुनेछ। मूलतः भन्ने शब्दप्रति वरिष्ठ नेता नेपालसहित केही नेताले असन्तुष्टि जनाएपछि नयाँ प्रस्तावमा त्यसलाई हटाइएको छ ।

प्रस्तावमा स्थायी कमिटीका लागि पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्ने, संसदीय दलको भूमिकालाई थप प्रभावकारी बनाउने लगायत बुँदा छन् ।

त्यस्तै, आगामी चुनाव अहिलेभन्दा अनुकूल हुने गरी तीनवटै तहको सरकारलाई गतिशील र कामहरूलाई प्रभावकारी बनाउन मापदण्डका आधारमा संघीय र प्रदेश तहको मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्