युरोभिजन सङ कन्टेस्ट एसिया २०२६ को ग्रान्ड फिनालेमा नेपाली सांगीतिक पहिचान गुञ्जिँदै
काठमाडौं : सात दशक लामो इतिहास बोकेको विश्व चर्चित सांगीतिक उत्सव ‘युरोभिजन’ पहिलोपटक एसियाली महादेशमा पाइला टेक्दै छ ।
नेपाल पनि आफ्नै मौलिक धुन बोकेर प्रतिस्पर्धाको मञ्चमा उभिँदै छ । आउँदो यही नोभेम्बर १४ मा थाइल्यान्डको बैंककमा आयोजना हुने ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को ग्रान्ड फिनालेमा नेपाली सांगीतिक पहिचान कसरी गुञ्जिँदै छ त ?
सङ्गीतको कुनै भूगोल हुँदैन, न त यसको कुनै सीमा नै हुन्छ। सन् १९५६ देखि करोडौँ दर्शकलाई सांगीतिक सागरमा डुबाउँदै आएको ‘युरोभिजन’ ले यसपटक एसियाका विविधतापूर्ण संस्कृति र धुनलाई एउटै मञ्चमा जोड्दै छ। थाइल्यान्डको बैंककस्थित ‘वान बैंकक फोरम’ मा आयोजना हुने ‘युरोभिजन सङ कन्टेस्ट एसिया २०२६’ को ग्रान्ड फिनालेका लागि अब केही दिन मात्र बाँकी छ। एसियाका ११ वटा राष्ट्र सांगीतिक प्रतिस्पर्धामा उत्रदैछन।
यस ऐतिहासिक प्रतियोगितामा नेपालको प्रतिनिधित्व भोजपुरका गायक तथा संगीतकार प्रतीक हिमाल राईले गर्दैहुनुहुन्छ । हिमालय टेलिभिजनद्वारा आयोजित ‘नेपाल डिसाइड्स’ को प्रतिस्पर्धात्मक मञ्चबाट १० प्रतिस्पर्धीलाई पछि पार्दै प्रतीकले बैंककको यात्रा तय गर्नुभएकाे हाे । प्रतीकले आफ्नै रचना र स्वरमा सजिएको गीत “अनन्त माया” मार्फत नेपाली राष्ट्रिय पहिचान, माटोको सुगन्ध र मायाको सन्देश विश्वसामु पुर्याउँदै हुनुहुन्छ।
५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको मतका आधारमा तय हुने विजेताले ‘युरोभिजन २०२७’ मा विशेष अतिथिका रूपमा प्रस्तुति दिने अवसर प्राप्त गर्नेछन्। आउँदो नोम्बर १४ , नेपाली समय अनुसार साँझ सवा ७ बजे प्रत्यक्ष प्रसारण हुने यो महाउत्सवलाई दर्शकले हिमालय टेलिभिजन तथा युरोभिजनको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सक्नेछन्। साथै, eurovisionasia.com/vote मा गई कलाकार प्रतीक हिमाल राईलाई निःशुल्क मतदान गर्न सकिनेछ ।

प्रतिक्रिया