निर्देशन अटेरी गरेको भन्दै सरकारले निलम्बन गर्यो एन प्याब्सन
काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) निलम्बनमा परेको छ । गृह मन्त्रालयले एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको सूचना जारी गरेको छ ।
एन–प्यब्सनले मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना नगर्नुका साथै संगठनका पदाधिकारीहरूले सरकारले स्वीकृत गरेको विधान तथा संगठनको मूल उद्देश्यभन्दा विपरीतका कार्यहरूसमेत गरेको भन्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार पालना नगरेको पाइएको छ । यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफलसमेत गरेको थियो ।
छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले १२ मंसिर २०८२ मा जारी गरेको निर्देशनबमोजिमका कार्य गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको गृह मन्त्रालयको भनाइ छ । मन्त्रालयको यो निर्णयसँगै संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गरिने गतिविधि गैरकानुनी हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न भए प्रचलित कानुनबमोजिम कारबाही गरिनेसमेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया