विराटनगर र कर्णालीमा कसको पल्ला भारी ?
काठमाडौं : एनपीएलमा भोलि नै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । जनकपुरलाई हराउँदै विजयी सुरुवात गरेको कर्णाली सोही लय कायम राख्ने लक्ष्यमा रहँदा पहिलो खेलमा जित नजिक पुगेर चितवन राइनोजसँग हारेको विराटनगर पुनरागमनको खोजीमा छ । बराबरीको स्थितिमा रहेका यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
विराटनगर आफ्नो अघिल्लो खेलको नतिजालाई बिर्सदै पुनरागमन गर्न चाहन्छ । चितवनविरुद्धको खेलमा कुनै समय खेल आफ्नो पक्षमा पारे पनि तल्लोक्रममा ब्याटिङ धर्मराउँदा विराटनगर ८ रनले हारेको थियो । सनसनी स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलीमा घरेलु क्रिकेटका अनुभवी बसिर अहमद, लोकेश बम र प्रतिश जिसिजस्ता खेलाडी छन् ।
यस पटक टोलीले वेष्ट इण्डिजका विश्वचर्चित विस्फोटक अलराउन्डर आन्द्रे रसेलसहितका अनुभवी विदेशी खेलाडी भित्र्याएको छ । यसले विराटनगरको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाएको छ । पहिलो खेलमा शान्दार सुरुवात दिलाएका ओपनरद्धय इमरान शेख र लोकेशको लय, रसेलको आक्रमकता टोलीले यो खेलमा पनि अपेक्षा गरेको छ ।
यता, कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुरलाई १९ रनले हरायो । यस्तोमा कर्णाली जितको लयलाई निरन्तरता दिने दाउमा मैदान उत्रिनेछ । कप्तान सोमपाल कामीको नेतृत्वमा रहेको टोलीमा गुलसन झा, नन्दन यादव, पवन सर्राफलगायतको उपस्थिति छ । बलिङमा युवा प्रतिभा युनिश ठकुरीले पहिलो खेलमा देखाएको प्रदर्शनले कर्णाली केही खेलाडीमा मात्र सिमित नरहेको देखाउँछ । उनीहरुलाई बंगलादेशका अकबर अलि, अरिफुल इस्लाम, स्कटल्याण्डका मार्क वार्टको साथ हुनेछ ।
हेड टु हेड
एनपीएलका विगतको नतिजाका आधारमा कर्णाली र विराटनगर नेक टु नेकको अवस्थामा छन् । पहिलो संस्करण कर्णाली ७ रनले जित्दा गत वर्ष विराटनगर ३ विकेटले विजयी भएको थियो ।
यसपटक पनि यी दुईबीच मैदानमा कडा टक्कर हुने देखिन्छ ।
प्लेयर टु वाच
कर्णाली याक्स
अरिफुल इस्लामः बंगालदेशी यी खेलाडीले पहिलो खेलमा कर्णालीका लागि सर्वाधिक ४३ रन बनाएका थिए । ओपनिङमा राम्रो प्रभाव बनाउन सक्ने अरिफुलले पावर प्लेमा ठूलो स्कोर जोड्न सके कर्णाली सहज अवस्थामा पुग्न सक्छ ।
सोमपाल कामीः टोलीका कप्तान तथा अनुभवी अलराउन्डर सोमपालबाट सुरुवाती ओभरमा धारिलो बलिङ र आवश्यकता परेको बेला तल्लो क्रममा विस्फोटक ब्याटिङको अपेक्षा गरिएको छ । उनको गति र ओपनिङ वा मध्यक्रमको ब्याटिङ टोलीका लागि मुख्य आधार हो ।
विराटनगर किङ्स
लोकेश बमः आक्रामक ओपनिङ ब्याटर जसले सुरुवातमै विस्फोटक ब्याटिङ गर्दै टोलीलाई पावरप्लेमा ठूलो स्कोर दिलाउन सक्छन् ।
आन्द्रे रसेलः दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उनले आफ्नो आक्रामक खेलशैलीमार्फत् विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका छन् । उनको उपस्थितिले विराटनगर किंग्सको ब्याटिङ र बलिङ दुवै पक्षमा थप शक्ति प्रदान गर्ने अपेक्षा गरिएको छ । पहिलो खेलमा मध्यओभर सम्हालेका उनले १७ बलमा ३३ रन र बलिङमा पनि १ विकेट लिएका थिए ।)

प्रतिक्रिया