एनपीएल : बिहीबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुने
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको जारी तेस्रो संस्करणमा भोलि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुर लयमा फर्किन चाहन्छ । यता पहिलो खेल खेल्न लागेको काठमाडौं विजयी सुरुवात गर्ने दाउमा छ ।
बिहीबार दिउँसो साढे १२ हुने पहिलो खेलमा भिड्न लागेका जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । जहाँ पहिलो खेल हारेको जनकपुर पुनरागमनको खोजीमा हुनेछ भने काठमाडौं जित सहित प्रतियोगिताको थालनी गर्न चाहन्छ ।
पहिलो संस्करणको च्याम्पियन जनकपुरका लागि दोस्रो संस्करण बिर्सनलायक बन्यो । गत वर्ष तालिकाको पुछारमा रहेको जनकपुर यसपटक पुनरागमनको लक्ष्यमा रहे पनि पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोर्यो ।
जनकपुरमा जिम्मी निशम, मोईन अली, कुशल परेरा र कप्तानीको समेत जिम्मेवारीमा रहेका हर्मित सिंहजस्ता स्तरीय विदेशी खेलाडी छन् । उनीहरुलाई घरेलु खेलाडीहरू ललित राजवंशी, अनिल साह लगायतले साथ दिनेछन् । कागजी रुपमा सन्तुलित देखिए पनि पहिलो खेलमा भोगेको हारबाट सिक्दै २ अंक जोड्नु जनकपुरलाई मुख्य चुनौती हुनेछ ।
यता करण केसीको कप्तानीमा मैदान उत्रने काठमाडौं गोर्खाज पनि सन्तुलित देखिन्छ । टोलीमा अष्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरलाई समेत समावेश गरिएको छ । यद्यपी उन कति समय नेपालमा रहन्छन् भन्ने यकिन नभए पनि वार्नरको उपस्थितिले टोलीको मनोबल उच्च बनाएको छ । उनीबाहेक के एस भरत, विल बसिस्टो, साम हेजलेट जस्ता अनुभवी खेलाडीबाट टोलीले अपेक्षा राखेको छ । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका कप्तान करणसहित साहब आलम, रशिद खान, भिम सार्की लगायतले काठमाडौंलाई ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलन प्रदान गरेको छ ।
हेड टु हेड
एनपीएलमा अहिलेसम्म यी दुईबीच २ पटक भेट भएको छ । पहिलो संस्करण जनकपुर ५ विकेटले विजयी हुँदा दोस्रो संस्करण काठमाडौं पनि समान ५ विकेटले नै विजयी भएको थियो ।
पछिल्लो भेटमा काठमाडौंसँग हारेको जनकपुर यसपटक आफ्नो हारको बदला लिने दाउमा हुनेछ भने काठमाडौं आफ्नो सोही जितको गतिलाई निरन्तरता दिन मैदान उत्रनेछ ।
प्लेयर टु वाच
जनकपुर बोल्ट्स
मोईन अलीः अन्तर्राष्ट्रिय क्रिकेटको अपार अनुभव भएका अलराउन्डर मोईन अली जनकपुरको ब्याटिङ र बलिङ दुवै पक्षका मुख्य हतियार हुन् । उनको स्पिन जादू र विस्फोटक ब्याटिङले खेलको रुप बदल्न सक्छ । पहिलो खेलमा हारका बाबजुद टोलीका लागि १९ रन र बलिङतर्फ ४ दशमलव ७५ को इकोनोमी राख्दै २ विकेट लिएका उनी काठमाडौंविरुद्ध पनि जनकपुरका लागि गेम चेन्जर बन्न सक्छन् ।
हरमीत सिंह : उत्कृष्ट स्पिन बलिङ र तल्लो क्रममा उपयोगी ब्याटिङ गर्न सक्ने क्षमता भएका हरमीत हालको फर्ममा निकै प्रभावकारी देखिएका छन् । कप्तान समेत रहेका उनले पहिलो खेलमा १९ रन र ३ विकेट समेत लिएका थिए । एनपीएलमा हालसम्म उनले १८० रन र २३ विकेट लिइसकेका छन् ।
काठमाडौं गोर्खाज
करण केसी : उनको तीव्र गति र सुरुवाती ओभरमा विकेट लिने क्षमता तथा आवश्यकता परेको बेला तल्लो क्रममा गर्ने आक्रामक ब्याटिङ काठमाडौंको बलियो पक्ष हो । करण पावरप्ले र डेथ ओभरमा विकेट निकाल्न तथा आवश्यकता पर्दा ठूला प्रहार गर्न माहिर छन् । एनपीएलमा करनले तल्लोक्रममा टोलीको ब्याटिङ सम्हाल्दै १०० रन र २५ विकेट लिइसकेका छन् ।
राशिद खान र भीम सार्की : मध्यक्रमका भरपर्दा ब्याटर भीम सार्की र बलिङ आक्रमणमा विविधता ल्याउने राशिद खानले पनि खेलमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । भीमले एनपीएलका १२ खेलमा १६८ रन बनाउँदा राशिदले १५ विकेट लिइसकेका छन् ।

प्रतिक्रिया