राजनीति

महाधिवेशन सकेको कांग्रेसलाई असन्तुष्ट नेता समेट्न चुनौती

२०८३ कार्तिक ९ गते २०:०७
महाधिवेशन सकेको कांग्रेसलाई असन्तुष्ट नेता समेट्न चुनौती

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै पार्टीभित्रको आन्तरिक समीकरणले नयाँ रूप लिएको छ । यता महाधिवेशनको चुनावी प्रतिस्पर्धामा पराजित भएका असन्तुष्ट नेता कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन पूर्वसभापति शेरबहादुर देउवा समूह लागिपरेको छ । यसले पराजित र असन्तुष्ट पक्षलाई समेटेर पार्टीलाई एकढिक्का बनाउने चुनौती नवनिर्वाचित सभापति थापासँग छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति त चयन गर्याे, तर महाधिवेशनपछिको साङ्गठनिक व्यवस्थापन भने झनै जटिल बनेको छ । महाधिवेशनको चुनावी प्रतिस्पर्धामा पराजित भएका र अवसरबाट वञ्चित बनेका नेता कार्यकर्तालाई आफूतिर आकर्षित गर्ने रणनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवा समूह सक्रिय बनेको छ ।

छुट्टै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको देउवा समूहले संस्थापन पक्षको निर्वाचनमा पराजित भएका प्रभावशाली नेताहरूलाई आफ्नो अभियानमा आउनुस् भन्दै ढोका खुला राखेको छ । चुनावी हारका कारण आक्रोशित र निराश बनेकाहरूलाई समेटेर आफ्नो समानान्तर संरचनालाई बलियो बनाउने दाउमा देउवा पक्ष देखिएको छ ।

अर्काेतर्फ पार्टीभित्र गुटबन्दी अन्त्य गरी एकढिक्का बनाउने प्रतिबद्धता जनाएका सभापति थापामाथि आफ्नै समूहका असन्तुष्ट र पराजित भई मुख बिगारेर बसेका शीर्ष नेताहरूलाई चित्त बुझाउनुपर्ने बहुआयामिक दबाब छ । अझ महाधिवेशनको मुखमा देउवा समुह छोडेर पार्टीको मुल प्रवाहमा आएका शिर्ष नेता नै महाधिवेशनमा पराजित भएपछि सभापति थापालाई चुनौती थपिएको छ । साथै असन्तुष्ट र पराजितहरूलाई साङ्गठनिक जिम्मेवारी दिएर थामथुम पार्न विधानको साङ्लो ठूलो बाधक बनेको छ। कांग्रेस विधानको व्यवस्थाअनुसार सभापतिले केन्द्रीय कार्यसमितिमा बढीमा ६६ जनालाई मात्रै मनोनीत गर्न पाउने स्पष्ट सीमा छ। २९७ सदस्यीय कुल केन्द्रीय समितिमा प्रत्यक्ष निर्वाचित भएर आउनेबाहेक ६६ जना मनोनित हुनेछन् । जबकि, महाधिवेशनमा विभिन्न पदमा पराजित भएका र केन्द्रीय समितिमा अटाउन नसकेका आकांक्षीहरूको सूची सयौँको सङ्ख्यामा छ ।

महाधिवेशनमा पराजित भएका असन्तुष्टहरूलाई आफ्नो समानान्तर अभियानमा भित्याएर शक्ति सञ्चय गर्ने देउवा पक्षको रणनीति र विधानको ६६ जना मनोनीत गर्ने सीमामा धेरैलाई समेट्नुपर्ने गगन थापाको बाध्यताले कांग्रेसलाई थप चेपुवामा परेको छ । नवनिर्वाचित सभापति थापाले यो साङ्गठनिक चुनौती र देउवा पक्षको रणनीतिक घेराबन्दीलाई कसरी चिरेर पार्टीलाई एकढिक्का बनाउँछन, त्यसैमा कांग्रेसको भावी राजनीतिक भविष्य निर्भर रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्