राजनीति

जागरण अभियान थालेको नेकपाका के छन् उद्देश्य

२०८३ कार्तिक ९ गते २०:०४
जागरण अभियान थालेको नेकपाका के छन् उद्देश्य

काठमाडौं : दशैं-तिहारलगत्तै सरकारविरुद्ध कडा आन्दोलनमा उत्रिने घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले त्यसैको ‘वार्मअप’ र आन्तरिक सुदृढीकरणस्वरूप राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। विगतका गल्तीको समीक्षा गर्दै चुनावदेखि चुनावसम्मको सङ्कुचित दायरा चिर्न गाउँ फर्किएको नेकपाको दाबी छ । यो अभियानमा नेकपाले केके गर्दैछ त ?

दशैँतिहार लगत्तै आन्दोलनमा जाने बताउँदै आएको नेपाली कम्युनिष्ट पार्टी नेकपा पूर्वघोषित आन्दोलन छोडेर जागरण अभियानमा जुटेको छ । दुई दर्जनभन्दा बढी वाम तथा समाजवादी घटकबीचको एकताबाट बनेको नेकपाले आन्दोलनकै ‘वार्मअप’ स्वरूप राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको दाबी गरेको छ ।

निर्वाचनैपिच्छे खुम्चिँदै गएपछि कहिले मध्यपहाडी, कहिले हुलाकी त कहिले मेची-महाकाली अभियान सञ्चालन गरेको नेकपाले यसपटक तीन उद्देश्यसहित राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको हो ।

के के हुन् मुख्य तीन उद्देश्य ?

आन्तरिक पार्टी जीवन सुदृढीकरण

नेकपाले प्रथमत: पार्टीको आन्तरिक जीवन सुदृढीकरणका लागि अभियान सञ्चालन गरिएको बताएको छ। यसअन्तर्गत पार्टी सदस्यता थप्नेदेखि जनगुनासो सुन्नेसम्मका काम हुने पार्टीले जनाएको छ। त्यसका लागि नेता/कार्यकर्तालाई राजधानी वा सदरमुकाम नभई गाउँ केन्द्रित हुन पार्टीले निर्देशन दिइसकेको छ। विगतमा पार्टी चुनावदेखि चुनावसम्म गएको कमजोरी स्वीकार्दै नेकपाले अब जनतादेखि जनतासम्म हुने प्रण गरेको छ।

चुनावका तयारी

नेकपाले आन्तरिक पार्टी जीवन सुदृढीकरणसँगै चुनावी तयारीसमेत अघि बढाएको छ। अभियानमार्फत् जनताकहाँ पुग्दा विगतको कमजोरी स्वीकार्दै आसन्न चुनावमा आफ्नो पार्टीलाई हेर्न भनिने नेताहरूले बताएका छन् । यो काम चुनावदेखि चुनावसम्मको अप्रोचबाट नभई जनतादेखि जनतासम्मको अप्रोचमार्फत् हुने नेकपाको दाबी छ। यो अभियान फागुन आसपास हुने स्थानीय र त्यसपछि हुने प्रादेशिक चुनावकेन्द्रित पनि हो।

सरकारविरुद्ध घेराबन्दी

नेकपाको यो अभियानको अर्को महत्त्वपूर्ण उद्देश्य वर्तमान सरकारविरुद्ध घेराबन्दी हो । सरकारविरुद्ध सडक ओर्लिने पूर्ववत् घोषणा गरेको नेकपाले त्यसकै तयारीस्वरूप यो अभियान सञ्चालन गरेको हो । सरकारविरुद्ध घेराबन्दीका लागि पहिले पार्टी नै जाग्नुपर्ने निष्कर्ष निकाल्दै नेकपाले अभियान सञ्चालन गरेको हो । त्यसका लागि सुरुमा जनतामा जाने र उनीहरूका कुरा सुनेर मात्रै थप कदम चाल्ने रणनीति नेकपाले अपनाएको छ।

आन्दोलनबाट जागरणतर्फ !

यो वैचारिक र साङ्गठनिक कसरतमा सबैभन्दा रोचक पक्ष पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक आत्मसमीक्षामा देखिन्छ। सशस्त्र युद्धको मोर्चा सम्हालेर बन्दुकबाट परिवर्तन खोजेका प्रचण्ड आज फेरि विवेकबाट परिवर्तन ल्याउने ध्याउन्नमा गाउँ फर्कनुपर्ने बाध्यता आइपुगेको छ। उहाँ स्वयम्‌ले सार्वजनिक रूपमा विगतका कदम र कार्यशैलीप्रति गम्भीर आत्मआलोचना गर्दै आउनुभएको छ।

नेकपाले सुरु गरेको यो राष्ट्रिय जागरण अभियान सैद्धान्तिक रूपमा जति आकर्षक सुनिन्छ, यसको सफलता भने नेतृत्वको बदलिएको कार्यशैलीमा निर्भर गर्दछ। केवल भाषण, आत्मसमीक्षा र केही महिनाका औपचारिक कार्यक्रमले मात्र ‘ओरालोमा लडेको ढुङ्गो’ जस्तै बन्दै गएको वाम शक्तिलाई पुनः ऊर्जा दिन सक्दैन। यदि जनताको घरदैलोमा पुग्ने यो बाचा केवल चुनावी ‘स्टन्ट’मा सीमित भयो भने नेकपाको यो ओरालो यात्रालाई रोक्न कुनै पनि जागरणले साथ दिने छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्