देउवालाई नफापेको असोज १८: २४ वर्षअघि ज्ञानेन्द्रले असक्षम बनाए, यसपाली के होला ?
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई खुलारुपमै आह्वान गरिरहेको छ । तर देउवा र उहाँ निकट नेताहरू समानान्तर महाधिवेशनको तयारीमा छन् । १५औँ महाधिवेशनका लागि तोकिएको असोज १८ को मिति देउवाको राजनीतिक जीवनमा बडो दुर्भाग्यपूरण दिनसमेत हो । के देउवा असोज १८ को चोट भुलाउँदै र सम्मानजनक बहिर्गमनको बाटो बनाउन समक्षम रहनुहोला ?
असोज १८ गते र नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीचको संयोग गज्जबको छ । यसपटक चाँहि नेपाली कांग्रेसले असोज १८ गते नै १५औँ महाधिवेशन उद्घाटन गरिरहँदा देउवाका लागि यो दिन आफ्नो सम्मानजनक बिदाई या त, फेरि अर्को अवगालको भारी बोक्ने संयोग परेको छ ।
किनकी, आजको मितिसम्म वा अहिलेसम्म पनि नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवालाई १५औँ महाधिवेशन समारोहमा सहभागी भएर उद्घाटन गरिदिन खुला रुपमा आग्रह गरिरहनु भएको छ । तर, देउवा र उहाँ निकट नेताहरुले थापा नेतृत्वको कांग्रेस र उसले गरेको महाधिवेशनविरुद्ध समानान्तर महाधिवेशनको अभ्यास जारी राखेका छन् ।
सर्वोच्च अदालतको अर्को फैसला नआउँदासम्म नेपाली कांग्रेसको आधिकारिक सभापति गगन थापा, आधिकारिक पार्टी कार्यालय सानेपा र आधिकारिक महाधिवेशन भोलि उद्घाटन हुने महाधिवेशन नै हो । दाबीका हिसाबले देउवापक्षले पनि आफूहरुलाई आधिकारिक कांग्रेस भनिरहेको छ र यो पक्षको वैधानिकता अब दोस्रोपटक पनि हरण हुनेछ, जब असोज १८को महाधिवेशनबाट चुनिने समितिले निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिक गराउनेछ ।
असोज १८ र देउवाबीचको संयोग के हो त ?
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भन्दै अपदस्थ गरी शासन सत्ता आफ्नो हातमा लिनुभएको थियो । २०५८ जेठ १९ को दरवार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्र शाह आफै शासन चलाउने महत्वाकांक्षामा हुनुहुन्थ्यो । त्यसअघि नै होलेरी काण्डमा राजासँगै खटपट भएर गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री बन्नुभएको थियो ।
यो घटनाले राजा ज्ञानेन्द्र शाहसँग गिरिजाप्रसाद कोइरालाको खटपट तर देउवाको निकटता बढायो । दरबारले कोइरालालाई कमजोर बनाउन देउवालाई प्रयोग गर्न पनि थाल्यो । यससँगै कोइराला–देउवा विवाद उत्कर्षमा पुग्यो । गिरिजाप्रसाद कोइरालासँगको रिस र राजा ज्ञानेन्द्रसँगकै निकटताका कारण देउवाले दुई वर्ष अवधि बाँकी हुँदै ०५९ जेठमा प्रतिनिधिसभा विघठन गर्नुभयो र मध्यावधि निर्वाचनमा जाने सिफारिस राजा ज्ञानेन्द्रसमक्ष गर्नुभयो ।
उहाँको सिफारिस ज्ञानेन्द्रले तत्कालै सदर गरेपछि देउवा सरकार कामचलाउमा बदलियो । लगत्तै देउवाले नेपाली कांग्रेस पार्टी नै विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नुभयो । पार्टी विभाजनका लागि देउवालाई सुरुमा साथ दिएका रामचन्द्र पौडेलले विभाजनमा दरवारको हात रहेको थाहा पाएपछि आफूले साथ नदिएको विगतमा बताउने गर्नुभएको थियो ।
तर, त्यसको केही समयपछि प्रधानमन्त्री देउवा र राजा ज्ञानेन्द्र शाहबीच सत्ता स्वार्थ बढ्दै गयो, जसले २०५९ असोज १८ गते देउवा पदच्युत हुनुभयो । राजा ज्ञानेन्द्रले देउवालाई असक्षम प्रधानमन्त्री घोषणा गर्दै पदच्युत गरिदिनुभयो । देउवाको राजनीतिक जीवनमा विरोधीहरुले सर्वाधिक प्रयोग गर्ने असक्षमताको ट्याग पहिलोपटक त्यसैबेला ज्ञानेन्द्रले प्रयोग गरेको पदावली थियो । यो घटनापछि देउवासँग प्रधानमन्त्री पद पनि रहेन, नेपाली कांग्रेस पार्टी पनि रहेन र चुनावचिह्न रुख पनि रहेन । र, आफूलाई राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरेको चोट देउवालाई यति परेको छ कि, त्यो घटनाको २४ वर्षपछि हालै सिंगापुरबाट फर्किएर चुनदेवी पुगेका देउवाले भन्नु भएको थियो, ज्ञानेन्द्रले त सकेन अरु कसैले सक्छ ?
यो असोज १८ गते पनि देउवाका लागि एउटा नयाँ अवसर वा नयाँ दुर्घटना बनेर आइरहेको विश्लेषक सुदर्शन आचार्य बताउनुहुन्छ । अवसर यो छ कि, देउवा खुल्लामञ्चमा आयोजित १५औँ महाधिवेशनको भव्य समारोहमा उपस्थित भएर आफ्नै हातबाट उद्घाटन गर्न पाउँदै हुनुहुन्छ ।
यसले उहाँको सम्मानजनक राजनीतिक बिदाइ गर्नेछ । यदि उहाँ त्यो मञ्चमा जानुभएन भने मंसिर २१ गतेका लागि भन्दै तोकिएको अर्को महाधिवेशन न त त्यो नेपाली कांग्रेसको महाधिवेशन हुनेछ न त उहाँको बिदाई नै सम्मानजनक हुनेछ । किनभने सत्ता स्वार्थका कारण २०५९ मा जसरी उहाँ असक्षम करार भएर पदच्युत हुनुभयो, त्यसैगरी पार्टीको सत्ता स्वार्थको ट्याग बोकेर उहाँ कांग्रेसबाट बाहिरिने निश्चित जस्तै देखिन्छ ।

प्रतिक्रिया