राजनीति

शहीदमाथि भद्दा मजाक : जेनजी सभामा गृहमन्त्रीको धम्की, ठगी र आपराधिक आरोपीलाई सम्मान !

२०८३ भदौ २४ गते २०:१६
शहीदमाथि भद्दा मजाक : जेनजी सभामा गृहमन्त्रीको धम्की, ठगी र आपराधिक आरोपीलाई सम्मान !

काठमाडौं : नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि आयोजित ‘जेनजी शहीद दिवस’को स्मृति सभा विवाद र आक्रोशको केन्द्र बनेको छ।

भदौ २३ को जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा न त सुशासनको झल्को देखियो, न त आन्दोलनको वास्तविक मर्म नै। बरु, मञ्चबाट सुनियो गृहमन्त्री सुधन गुरुङको धम्कीपूर्ण भाषा र अग्रभागमा देखियो धर्मका नाममा आपराधिक पृष्ठभूमिका विवादित पात्रको सहभागिता।

मंगलबार जेनजी स्मृति सभामा गृहमन्त्रीले मञ्चबाट पत्रकार र विपक्षीलाई धम्क्याइरहँदा, उहाँकै लहरमा बसेका गेरु वस्त्रधारी दुई पात्र भने मज्जाले ताली बजाइरहेका थिए। ती थिए- विजय भण्डारी र श्रीनिवास आचार्य।

सुशासन, परिवर्तन र पारदर्शिताको नारा बोकेर भएको जेनजी आन्दोलनको स्मृति सभामा यी दुई पात्रको सम्बोधन र उपस्थिति आफैँमा ठूलो व्यंग्य बनेको छ।

के विजय भण्डारी र श्रीनिवास आचार्य जेनजी हुन् ?

जेनजी आन्दोलनमा घाइते भएका हुन् ?

जेनजी आन्दोलनका घाइते परिवारका सदस्य हुन् ?

शहीद परिवारका सदस्य हुन् ?

के उनीहरू कार्यक्रम आयोजक हुन् ?

कि सत्तारुढ दलका जिम्मेवार नेता ? 

जेनजी आन्दोलनमा सहभागी भएकाले मात्र होइन टाढै बसेर आन्दोलन हेर्ने भुइँमान्छेले पनि यी दुई व्यक्तिको उपस्थितिलाई लिएर टाउकोमा हात राखिरहेका छन् । सत्तारुढ दलका कतिपय नेतासमेत यो दृश्य देखेर रन्थनिएका छन् ।

यी दुवैको पृष्ठभूमि न त जेनजी आन्दोलनसँग जोडिन्छ, न त सुशासनसँग नै। बरु, उनीहरूको विगत राजावादी आन्दोलनका नाममा हिंसा मच्चाउन खोज्ने मतियार र गम्भीर आपराधिक गतिविधिमा जोडिएको छ।

वैदेशिक रोजगारको आवरणमा ठगी गरेको मुद्दा सर्वोच्चसम्म पुगेका उनी कोटीहोमको आवरणमा संकलन गरेको चन्दा दुरुपयोगमा समेत जोडिएका थिए। दुई वर्षअघि २०८१ साउनमा पशुपतिमा एक महिनासम्म चलेको कोटिहोमका आयोजक भण्डारीले आर्थिक अनियमितता गरेको आरोप छ ।

मानव कल्याण आध्यात्मिक परोपकार संघ नामक संस्थाका भण्डारी अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा तानिएका थिए। प्रहरीमा उजुरी परेपछि प्रहरीले छाउनीस्थित उनको डेराबाट रजिस्ट्रर, चेक, चन्दा रसिद र डाइनामिक डेरिमेरिम इन्भेस्टमेन्ट प्रालि तथा अरविन्द योग मन्दिरका कागजात बरामद गरेको थियो। उनीमाथि एक करोड २७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेर मुद्दा अदालतसम्म पुग्यो।

यति मात्रै हैन उनी २०६८, २०७१ र २०७६ गरेर पटक पटक थुनामा समेत परेका व्यक्तिसमेत हुन् ।

वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई वैदेशिक रोजगारीको नाममा ठगी गरेको कसुरमा डेढ वर्ष कैद र जरिबानाको फैसला सुनाएको थियो ।

त्यो मुद्दा सर्वोच्च अदालतमा पाँच वर्षदेखि विचाराधीन थियो। पशुपतिको कोटीहोम सकिएपछि उनले पीडितलाई रकम दिएर मुद्दा मिलापत्रबाट टुङ्ग्याए। ठगीको रकम फिर्तामा उनले कोटीहोमको रकम दुरुपयोग गरेको आरोप लाग्यो।

अब श्रीनिवास आचार्यको कुरा गरौँ । उनको परिचय हो, साम्प्रदायिक सद्भाव खलबल्याउन आफैंलाई गोली हान्न लगाउने पात्र ।

एक पटक ठण्डा दिमागले सोच्नुहोस् त आफूलाई धार्मिक भन्ने वा धार्मिक अगुवा भनिटोपल्नेले हिंसा भड्काउन योजना बनाएरै आफूलाई गोली हनाउन सक्छ ? तपाईंलाई पत्यार नलागे पनि कोही कसैले सक्छ । सायद त्यही व्यक्तिले सक्छ, जसले आपराधिक पृष्ठभूमि भएको परिचय बोकेरै गृहमन्त्रीसँग मञ्च शेयर गर्ने हिम्मत गर्छ । अनि कार्यक्रमको सहउद्घाटन गर्न सक्छ ।

यी श्रीनिवासमाथि २०७४ सालमा गोली प्रहार भएको घटना सार्वजनिक भयो । प्रहरी अनुसन्धानमा उनले आफैँ योजना बनाएर आफैँलाई गोली हान्न लगाएको खुलेको थियो। त्यसको उद्देश्य साम्प्रदायिक हिंसा भड्काउने रहेको प्रहरी अनुसन्धानमा देखिएको थियो।

घटना के थियो ?

विराटनगर महानगरपालिका-१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्य २०७४ साल चैत २५ गते बिहान १ः४५ बजे शौचालय गर्न कोठाबाट बाहिर निस्केको अवस्थामा भएको गोली प्रहारबाट घाइते भएका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौँ आए । प्रहरीको विशेष अनुसन्धान टोलीले २०७५ साल वैशाख २४ गते बिहान आचार्यलाई काठमाडौँको गौशाला क्षेत्रबाट पक्राउ गरेको थियो । अनुसन्धानमा हिन्दु राष्ट्रको आन्दोलन चर्काउन उनले आफ्नै योजनामा माधव चौधरीलाई आफूलाई गोली हान्न लगाएको खुलेपछि हातहतियार तथा खरखजना कसुरमा मुद्दा चलाइएको थियो।

उनी गौहत्या गर्नेलाई मार्ने धम्कीपूर्ण भाषण दिएको आरोपमा २०८० असोजमा सुनसरीमा पक्राउ परेका थिए। २०८० फागुनमा दुर्गा प्रसाईँको नेतृत्वमा भएको प्रदर्शनमा उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा समातिएका थिए।

यस्ता व्यक्तिहरुलाई मञ्चमा देखिसकेपछि तपाईंलाई कस्तो लाग्यो ?

नेपालमा परिवर्तन र सुशासनको जग हाल्न जेनजीले ज्यानको बाजी थापेर गरेको ऐतिहासिक आन्दोलनको स्मृति सभामा गृहमन्त्री आफैँ ‘लोकतन्त्रको चौथो अंग’ र विपक्षीमाथि धम्कीको भाषा बोलिरहेका थिए। उता, सुशासनको धज्जी उडाउँदै करोडौँ ठगीका नाइके र आफ्नै ज्यानमाथि गोली हान्न लगाएर धार्मिक हिंसा भड्काउने आरोपीहरू मञ्चको अग्रभागमा बसेर ताली बजाउँदै उपदेश छाँट्दै थिए।

सञ्चारमाध्यम र विरोधीलाई सुध्रिन चेतावनी दिने गृहमन्त्रीले मञ्चमा आफ्नै दायाँबायाँ बसेका यस्ता गम्भीर आपराधिक पृष्ठभूमिका पात्रहरूलाई भने कुन नैतिकताका आधारमा स्थान दिनुभयो ?

अझ यहाँ केही व्यक्ति विजय भण्डारी र श्रीनिवासको बचाउ गर्दै आइरहेका छन् र भन्दैछन्, उनीहरू त आयोजक पो हुन् अनि मञ्चमा नबस्नु ? ए, उनीहरू कुन हैसियतले जेनजी शहीद दिवसको आयोजक बने ? सरकारले सार्वजनिक बिदा नै दिएर शहीद दिवस मनाइरहँदा मुल समारोहको आयोजना गर्ने जिम्मेवारी धर्मको व्यापार गर्नेहरूले कसरी पाए ? के आधारमा पाए ? उनीहरू यस्तो कार्यक्रम गर्ने स्टेकहोल्डर कसरी बन्न पुगे ?

शहीदको रगत र नागरिकको बलिदानीमाथि रचिएको यो ‘नाटक’ले जेनजी आन्दोलनको पवित्रतालाई मात्र अपमानित गरेको छैन, सुशासनको चर्को नारा लगाउने वर्तमान सरकारको वास्तविक नियत र कुरुप चेहरालाई पनि सडकमा छताछुल्ल पारिदिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *