बिशेष

ओलीलाई देखाएर कांग्रेस तर्साउने प्रचण्ड रणनीति

हिमालय टिभी
२०८१ माघ २४ गते १८:४६
ओलीलाई देखाएर कांग्रेस तर्साउने प्रचण्ड रणनीति

काठमाडौं : सार्वजनिक कार्यक्रमहरुमा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिइरहेका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा भने कांग्रेसतिर औँला सोझ्याउनुभयो ।

पटकपटकको सत्ता साझेदार कांग्रेस लक्षित अभिव्यक्ति दिँदा प्रचण्डले सहानुभूति भावसमेत प्रकट गर्नुभयो । यो गठबन्धन बनिसकेपछि पनि कांग्रेसलाई फकाउने प्रयासमा जुटेका प्रचण्डले अहिले सरकारले ल्याएका अध्यादेशदेखि सामाजिक सञ्जाल नियमन विधेयक सम्ममा कांग्रेसलाई प्रश्न गर्नुभयो । र उहाँको भाव थियो विचरा कांग्रेस !

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले सरकारले संसदमा दर्ता गराएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको विरोधमा भन्नुभयो, प्रधानमन्त्रीले देशलाईसमेत एमाले जस्तै प्रश्नमुक्त, आलोचनामुक्त र खासमा विवेकमुक्त बनाउन चाहनुहुन्छ । तर यो प्रश्न र आक्रोश प्रधानमन्त्रीसँग नभई कांग्रेससँग हो । त्यसैले उहाँले कांग्रेसलाई सोध्नु भएको छ, कांग्रेसको यसबारे धारणा के हो ?

एक घण्टा लामो सम्बोधनमा प्रचण्डको सामाजिक सञ्जाल विधेयकमाथिको टिप्पणी गर्दा भने विरोधाभाष देखियो । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले टिकटक बन्द गर्नेले सामाजिक सञ्जाल विधेयकको विरोध गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो ।

प्रचण्ड विधेयकको विषयलाई लिएर मात्र होइन, निर्वाचनअघि गठबन्धन गर्ने विषयमा कांग्रेसले विगतमा विरोध गरेको तर अहिले दुई दलीय व्यवस्थाको पक्षपोषण गरेको विषयमा पनि उहाँले प्रश्न उठाउनुभयो । प्रचण्डले सत्ता गठबन्धनभित्रै विश्वासको खाडल रहेको दोहो¥याउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले सत्ता हस्तान्तरणको गीत किन गाइरहनुभएको छ, भन्ने प्रश्नसमेत कांग्रेसतिर सोझ्याउनुभयो ।

वर्तमान सत्ता गठबन्धन अप्राकृतिक रहेको समेत दोहो¥याउनुभएका माओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधनबारे समेत प्रश्न गर्नुभयो । उहाँले एमाले अध्यक्षले पार्टीको बैठकमा संविधान संशोधन २०८७ मा हुन्छ भनिसकेको सम्झिँदै भन्नुभयो, ‘अब म संविधान संशोधनका विषयमा बोलौँ कि नबोलौँ ?’

माओवादी अध्यक्ष प्रचण्ड ओलीविरुद्धको अभिव्यक्तिबाट थाकेर कांग्रेसतिर लक्षित भएको सहजै बुझ्न सकिन्छ । त्यसैले उहाँले आफ्ना अभिव्यक्ति कांग्रेसी जनलाई प्रभावमा पार्ने मनसायबाट पस्किनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *