ओली-प्रचण्ड सम्बन्ध– चाटाचाटदेखि बाझाबाझसम्म

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच व्यक्तिगत तहमा झरेर आरोप प्रत्यारोप सुरु भएको छ ।
सरकार प्रतिपक्षीको भूमिकाका आधारमा भन्दा पनि व्यक्तिगत लाञ्छना लगाएर एकअर्काप्रति द्वेषपूर्ण अभिव्यक्ति दिने क्रम यी दुई नेताबीच सरकार परिवर्तन भएदेखि नै सुरु भएको हो । यो क्रम अहिले तीव्ररुपमा बढिरहेको छ । यो प्रवृतिले कार्यकर्ता नै लज्जित बनेका छन् ।
पछिल्लोपटक म्याग्दीको बेनीमा आयोजित सरकारविरुद्धको खबरदारी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामको कम, नेतृत्वको आलोचना बढी गर्नुभयो । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कामहरु कस्ता छन् भन्नेभन्दा प्रधानमन्त्री ओली चाँहि कस्ता हुन् भन्ने कुराले बढी चिन्तित बनाएको उहाँको अभिव्यक्तिमा सुनिन्छ । प्रचण्डलाई सरकारले अध्यादेश ल्याएर शासन गर्न लाग्यो, नागरिकका अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न लागियो वा सुशासन र विकासका मुद्दामा सरकारले प्रभावकारी काम गरेन भन्ने कुराहरुको चिन्ता कम छ, प्रधानमन्त्री ओली कस्ता व्यक्ति हुन् विगतमा उनले आफूसँग सत्ता साझेदारी गर्दा होस् वा मिलेर चुनाव लड्दादेखि पार्टी एक बनाउँदासम्म कस्तो व्यवहार गरे भन्ने कुराले धेरै पोलिरहेको छ । त्यसैले उहाँले प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा लाञ्छित गर्दै भनिरहनु भएको छ, ओली जाली र फटाहा ।
गत असारमा गठबन्धन परिवर्तन भएयता ओलीविरुद्ध निरन्तर खनिइरहनु भएका प्रचण्डको एउटै कुरा छ, ओली फटाहा छन्, त्यसकारण सरकार ढलिहाल्छ । ओलीविरुद्ध विगतमा कयौँपटक सत्ता सहकार्य गरेका र कयौँपटक आरोपप्रत्यारोप पनि गरिरहेका यी दुई नेता एकअर्कालाई लाञ्छित गर्ने प्रतिस्पर्धामै छन् । जसमा ओली पनि प्रचण्डभन्दा कत्ति कम हुनुहुन्न बरु धार्नी बढी नै हुनुहुन्छ । उहाँ त प्रधानमन्त्री भइसकेपछि पनि प्रतिपक्षी दलका नेताविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइरहनुहुन्छ । गत मंसिरको अन्तिम साता एक कार्यक्रममा ओलीले पनि प्रचण्डलाई भित्तामा पुग्ने गरी प्रहार गर्नुभयो ।
एमाले र माओवादी पार्टी मिलाएर नेकपा बनाउँदा एउटै जेटका दुई असफल चालक ओली र प्रचण्डबीच त्यसअघि र त्यसपछि निरन्तर आरोप प्रत्यारोप र निरन्तर सत्ता सहकार्य भइरहेको छ । २०७९ को आम निर्वाचनपछि मात्रै यी दुईबीच दुईपटक सत्ता सहकार्यको सम्बन्ध र दुईपटक सत्तापक्षी र विपक्षीको सम्बन्ध बन्यो । सत्ता सहकार्य गर्दा स्वर्ग र नर्कसँगै जाने प्रस्ताव पनि गरे । कुरा नमिल्दा चक्कु बोकेर एकअर्काको मन रेट्न खोजे । यी दुईबीचको हेटस्पीचको दर उस्तै छ निरन्तर ।
मित्रता र तुष दुवै बराबरी बोकेर निरन्तर एकअर्काविरुद्ध प्रहार गरिरहेका यी दुई नेताबीचको सम्बन्धले भोग्नेलाई भन्दा देख्नेलाई लाज भइरहेको छ । नेताहरुको कुरा पत्याइदिनुपर्ने कार्यकर्तासमेत असमञ्जस्यतामा छन् । हिजो मित्र भनिरहेकोले आज अचानक हैन सत्रु पो हो भनिदिँदा, सत्रु हो भनिरहेकाले त्यसो होइन नि मित्र हो भनिदिँदा कार्यकता पनि अलमलमा पो छन् कि ?
प्रतिक्रिया