Main News

ओलीको चेतावनी- गुटबन्दी गरेर पार्टीलाई ‘भाँडभैलो नबनाऔँ’

२०८१ पुष २१ गते १९:४४
ओलीको चेतावनी- गुटबन्दी गरेर पार्टीलाई ‘भाँडभैलो नबनाऔँ’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा लोकतन्त्रको नाममा गुटबन्दी गरेर पार्टीलाई भाडभैलो बनाउन नहुने उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीकै भनाइलाई हेर्ने हो भने एमालेभित्रको असन्तुष्टि गुटबन्दीका रुपमा प्रस्फुटन हुन लागेको संकेत देखिएको छ ।

गएको मंसिर ३० गते च्यासलमा आयोजित कार्यशालामा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलका नाममा गुटबन्दी नभएको दाबी गर्नुभएको थियो । अहिले अध्यक्ष ओलीको कार्यशैलीमै असन्तुष्टि राख्ने नेता/कार्यकर्ता बढ्दै जाँदा उहाँको गुटबन्दीको संकेत चपलीसम्म पुगेको अनुमान गर्न थालिएको छ । आइतबारबाट सुरुभएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनको सारमा म नै पार्टी र पार्टी नै म भन्ने सन्देश झल्किएको एमाले नेताहरु बताउँछन् ।
चौथो पटक सरकारको बागडोर सम्हाल्न पुग्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओली कमजोर बन्नुभएको छ ।

‘म नै पार्टी र पार्टी नै म’ को झल्को दिन हरदम तयार ओली आफ्ना आलोचकलाई किनारा लगाइहाल्नुहुन्छ । त्यसैको पछिल्लो उदाहरण भीम रावल हुनुहुन्छ । रावलले ओलीविरुद्ध १०औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसबाहेक घनश्याम भुसाल ओलीको आलोचक हुनुहुन्थ्यो, उहाँ पनि किनारा लाग्नुपर्यो । अर्की दुई नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सेना मिनबहादुर गुरुङको जग्गामा पार्टी भवन बनाउने निर्णयको विरुद्ध बोल्दा ६ महिनाका लागि निलम्बनमा पर्नुपरेको छ ।
यी त देखिएका कुरा भए बाँकी तल्ला तहका धेरै नेता/कार्यकर्ता कारवाहीमा परिरहेकै छन् ।

त्यसैले अहिले ओली अलोकप्रिय प्रधानमन्त्रीमात्र होइन, अलोकप्रिय नेताको बाटोमा हुनुहुन्छ । बोल्न कोही सक्दैनन्, बोले कारवाही भोग्नुपर्ने त्रास छ । पदाधिकारीदेखि तल्ला तहका कार्यकर्तासम्म ओली व्यवहारप्रति रुष्ट छन्, अनि उनीहरुमा उकुसमुकस पनि छ । त्यो उकुसमुकुस जुनकुनै बेला विष्फोट हुनसक्छ । हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतासँग एमाले नेता/कार्यकर्ता आकर्षित बन्न थालेका छन् । राजनीतिमा फर्किए भण्डारीलाई नेता मान्न उनीहरु सहजै तयार हुनसक्छन् । त्यसैले एमाले अध्यक्ष ओलीले त्यता लक्षित गर्दै गुटमा सक्रिय नहुन चेतावनी दिइरहनुभएको हुनसक्छ । किन भने पछिल्लो समय एमालेका कैयौं पदाधिकारी तथा केन्द्रीय सदस्यहरु भण्डारीको दैलोमा पुग्ने गरेका छन् । ‘ओपन सेक्रेट’ यो विषयमा ओली जानकार नहुने कुरै छैन, त्यसैले चपलीतिर नजान संकेत गरेको बुझ्न कठिन छैन । ४३ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले पार्टीभित्रको गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्ने उल्लेख गर्नुभएको छ ।

बैठकमा अध्यक्ष ओलीकाे सम्बाेधन :

‘विरोधीका आरोपमाथि चुप लागेर बस्नुहुदैन । चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ । सबै संगठनहरु उत्साहित भएर व्यक्तिव्यक्ति र घरघरमा पुग्नुपर्छ । वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ । पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ । लोकतन्त्रका नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो बनाउँदैन । बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर अघि बड्नसक्नुपर्छ ।’
केन्द्रीय कमिटी बैठक सुरुहुनु तीनदिन अघिमात्र अढाइ घण्टा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफूहरु एउटै कित्तामा रहेको सन्देश दिन खोजे पनि उहाँमा भण्डारीसँग त्रास रहेको एमाले नेताहरु बताउँछन् ।

किनभने ओलीका निरंकुश शैलीबाट आजित नेताहरु भण्डारीलाई नेतृत्व लिन आग्रह गर्दै आएका छन् । उनीहरुलाई भण्डारी राजनीतिमा फर्किनुहुन्न भन्ने सन्देश दिनपनि बहालवाला प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारी भेट्न उहाँको घरै पुग्नुभएको थियो । भण्डारीपनि एमाले नेता/कार्यकर्तासँग लगातार भेटमा मात्र हुनुहुन्न, जिल्ला भ्रमणमा पनि उत्तिकै कार्यकर्तासँग हात मिलाउन पुग्नुभएका प्रशस्तै उदाहरण छन् । अहिलेसम्म राजनीतिमा फर्किने सार्वजनिक अभिव्यक्ति दिइनसक्नुभएकी भण्डारीमा राजनीतिक चाहना कायमै छ । यीनै पृष्ठभूमिमा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा विरोधीहरुको कडा आलोचना र नेता/कार्यकर्तालाई गुटमा नलाग्न चेतावनी सँगसँगै दिनुभएको छ । बाह्या राजनीतिक असन्तुलन बनिरहेकाबेला बाह्यशक्तिले पनि ओलीको विस्थापन चाहिरहँदा विद्या एमालेको वैकल्पिक नेता बन्न सक्नेचिन्ता पनि ओलीमा छ ।

ओली प्रतिवेदनमा एमाले र नेपाली काङ्ग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्ति निर्माण लगायतका विषयवस्तु रहेका छन् । स्वभाविकरुपमा यसपटक पनि ओली प्रतिवेदन विना परिमार्जन स्वतः पारित हुनेनै छ । तर, असन्तुष्टि थप बढ्न रोकिने देखिदैन ।

बलियो देखाउँदै कमजोर मानसिकतामा ओली यसपटकको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुनुभएको छ । आफ्ना निकट भनिनेहरु अहिले उहाँबाट टाढा भइरहेकै छन् । टाढा रहेकाहरु त यसै टाढा छदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *