कांग्रेसमा शक्ति हत्याउन दौडधुप
काठमाडौं : नेपाली कांग्रेसभित्रको समीकरणमा फेरबदल देखिन थालेको छ । पार्टीको विधानतः सभापति शेरबहादुर देउवा विदा हुनेभएपछि उहाँको उत्तराधिकारी अर्थात अबको कांग्रेस नेता को हुने र शक्तिमा को–को आउने होड सुरु भइसकेको छ ।
विद्यार्थी राजनीतिबाट उदायका गगन थापा संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउवाको उत्तराधिकारी बन्ने दाउमा लागेपछि गुटहरु हेरफेर हुनसक्ने चर्चा सुरु भएको छ । अहिले कांग्रेसमा के हुँदैछ ?
कांग्रेसको विधान अनुसार १५औँ महाधिवेशन २०८२ साल मंसिरमै हुनुपर्ने हुन्छ । अर्थात यो समय आउने वर्ष हो । विधानमा हरेक चार–चार वर्षमा महाधिवेशन हुने उल्लेख छ । विशेष परिस्थिति भनेर एकवर्षसम्म लम्ब्याउन पाउने व्यवस्था विधानले गरेको छ ।
अहिले १५औँ महाधिवेशन चार वर्षमै हुनुपर्छ, भन्ने दौडमा नेता छन् । यो महाधिवेशन यसकारण पनि महत्वपूर्ण छ कि यहीबाट कांग्रेस सभापति देउवाको राजनीतिक सन्यास हुनेछ । कांग्रेसको विधानले सभापति दुई कार्यकाल हुनुपर्ने व्यवस्था गरेकोछ । शेरबहादुर देउवा १३ र १४ औँ महाधिवेशनको पूरा कार्यकाल सभापति भइसक्नुभएको छ । अब उहाँ विधान संशोधन गरेर पुनः सभापति हुने पक्षमा हुनुहुन्न । त्यसैले देउवाको उत्तराधिकारी को भन्ने चर्चा सुरु भएको छ ।
कांग्रेस–एमाले सत्ता समीकरणपछि सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई आफ्नो उत्तराधिकारीका रुपमा उभ्याउन थाल्नुभएको छ । हरेक संयन्त्रको बैठकमा होस् वा पार्टीका निर्णयहरुमा देउवाले थापालाई अघि सार्ने गर्नुभएको छ । तर, त्यसमा उहाँको स्वार्थ छ, आफूपछि आफ्नी पत्नी आरजु राणालाई राजनीतिमा स्थापित गराउने । सभापति थापालाई बनाउन भूमिका खेल्दा आफ्नी पत्नी राणालाई उपसभापति सुरक्षित गराउनुपर्ने शर्त देउवाको छ । त्यसैले अहिले देउवासँग नजिक रहेका नेताहरु टाढिन थालेका छन् ।
जस्तै, पूर्णबहादुर खड्का, १३औँ महाधिवेशनमा प्रवक्ताको जिम्मेवारी दिनुभएका विश्वप्रकास शर्माहरु अहिले देउवाको कोटरीबाट निकै टाढा पुगिसक्नुभएको छ । एनपी साउद, बालकृष्ण खाणहरु गुट फेर्ने तयारीमा हुनुहुन्छ । देउवासँग मिल्न पुग्नुभएका थापा र इतर समूहका नेता शेखर कोइरालाबीच बेमेल सुरु भइसकेको छ । थापाले कोइराला समूहबाट नेताहरु आफ्नो पक्षमा जम्मा गर्न थाल्नुभएको छ । उता, कोइराला देउवाबाट किनारा बनाइएका नेताहरु समात्न थाल्नुभएको छ । त्यसैले १४औँ महाधिवेशन पछि १५औँ महाधिवेशनमा कांग्रेसको आन्तरिक समीकरणमा निकै फेरबदल हुनसक्छ ।
एकपटक १४औँ महाधिवेशनको गुटगत अवस्था हेरौं ।
शेरबहादुर देउवा पक्ष
रामचन्द्र पौडेल
पूर्णबहादुर खड्का
कृष्णप्रसाद सिटौला
विजय गच्छदार
प्रदीप पौडेल
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
एनपी साउद
रमेश लेखक
शशांक कोइराला
शेखर कोइराला पक्ष
चन्द्र भण्डारी
धनराज गुरुङ
गगन थापा
अर्जुननरसिंह केसी
मिनेन्द्र रिजाल
बद्री पाण्डे
जीवन परियार
विमलेन्द्र निधि पक्ष
दिव्यश्वरी शाह
राजाराम कार्की
प्रकाशमान सिंह पक्ष
सुजाता कोइराला
विश्वप्रकाश शर्मा
कल्याण गुरुङ पक्ष
तटस्थ
महेश आचार्य
१५औँ महाधिवेशनमा हुनसक्ने गुट
सभापति ?
गगन थापा समूह (देउवाको समर्थनमा)
आरजु राणा देउवा
अर्जुननरसिंह केसी
ज्ञानेन्द्रबहादुर कार्की
फरमुल्लाह मन्सुर
श्यामकुमार घिमिरे
महालक्ष्मी उपाध्याय
भीष्मराज आङ्देम्बे
जीवनबहादुर शाही
प्रदीप पौडेल
बद्री पाण्डे
मीन विश्वकर्मा
र देउवा पक्षका अधिकांश नेता
शेखर कोइराला समूह
सुजाता कोइराला
चन्द्र भण्डारी
धनराज गुरुङ
मिनेन्द्र रिजाल
बलबहादुर केसी
दिलेन्द्रप्रसाद बडू
गुरुराज घिमिरे
रामकृष्ण यादव
हृदयराम थानी
विमलेन्द्र निधि समूह
यो समुह देउवा पक्षको समर्थनमा जाने छ ।
पूर्णबहादुर खड्का समूह
विश्वप्रकाश शर्मा
विजय गच्छदार
कृष्णप्रसाद सिटौला
भीमसेनदास प्रधान
शशांक कोइराला
अहिले यसरी नै छलफल चलिरहेको भएपनि आरजु राणा देउवा शेखर कोइरालासँग पनि सघन छलफलमा हुनुहुन्छ । परिस्थिति उल्टिदा देउवाको उत्तराधिकारी शेखर नै बन्ने सम्भावना पनि छ । त्यसो हुँदा फेरि नेताहरुको गुट र नेतृत्वमै फेरबदल आउन सक्छ । अहिलेलाई घनिभूतरुपमा छलफलहरु चलिरहेका छन् । महाधिवेशनको मिति तोकिएपछि देउवाको उत्तराधिकारी बन्ने र पदाधिकारी बन्नेहरुको यो दौड अझै तीव्र हुनेछ ।
प्रतिक्रिया