Main News

रविविरुद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीमा अदालतमा मुद्दा

हिमालय टिभी
२०८१ पुष ७ गते १९:४८
रविविरुद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीमा अदालतमा मुद्दा

काठमाडौं : पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीसहित ५ जनाविरुद्ध यी तीनवटै कसुरमा सजायको माग गर्दै मुद्दा दायर भएको हो भने सहकारी ठगीमा ३१ जनासहित समग्रमा ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले तीन महिनाभन्दा बढी लामो अनुसन्धानपछि मुद्दा दर्ता गर्दा लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ ।

दुई महिनाभन्दा बढी समयको अनुसन्धान र विभिन्न जिल्लामा पुर्या्एर लिइएको बयानपछि रास्वपा सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा तीनवटा मुद्दा दर्ता भएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा लामिछानेविरुद्ध दर्ता भएका हुन् । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा दर्ता भएको हो ।

विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ भने ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ । रवि लामिछाने, छबिलाल जोशीसहितका आरोपीविरुद्धको मुद्दामा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

यसअघि शुक्रबार गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार समग्रमा ४४ जनाविरुद्ध मुद्दा दायर गर्योु । शुक्रबार जीबीसहित १९ जनाविरुद्ध पुरक अभियोजन दर्ता गर्दा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ बिगो कायम गरिएको थियो । आइतबार दर्ता भएको मुद्दामा लामिछानेविरुद्ध मात्रै २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ । तर निकिताविरुद्ध भने सम्पत्ति शुद्धीकरणको मुद्दामा सम्पत्ति जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।

निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ । त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईं पनि छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा प्रहरीले मूलतः पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन, संसदीय विशेष समितिको प्रतिवेदनलाई आधार मानेर थप अनुसन्धान अघि बढाएको थियो । सहकारीको रकम ऋण लिने काममा आफ्नो व्यक्तिगत र गोर्खा मिडियामा संस्थागत रुपमा समेत संलग्नता नभेटिएको दावी गरेका रवि लामिछानेले ब्याज तिर्ने क्रममा काटेका चेकहरु फेला परेको प्रहरीको दावी छ ।

प्रहरीले सूर्यदर्शनका नाममा काटिएका चेकका प्रमाणहरु पेश गरेको छ । सूर्यदर्शन सहकारीको ठगीको आरोपमा प्रहरीले १८ असोज, २०८० मा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो, जसमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङ, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायतहरु थुनामा छन् । उनीहरुमाथि करिव एक अर्ब ११ करोड रुपैयाँ विगो मागदावी थियो । उनीहरुमाथि संगठित अपराध गरेको अनि आर्जित रकम शुद्धीकरण गरेको अभियोगमा शुक्रबार मुद्दा दायर भइसकेको छ । मुद्दाको सुनुवाइ गर्दा अब जिल्ला अदालतले फेरि उनीहरुको पनि बयान लिनेछ ।

प्रहरीले तय गरेका तीनवटा आरोपमा कस्तो सजाय हुन्छ ?

सहकारी ठगीको दण्ड सजाय

सहकारी ऐनमा ठगीका घटनामा १ देखि १० वर्षसम्म कैद र १ लाख जरिवानाको व्यवस्था गरिएको छ । यसमा कसुरी हेरी अदालतले सजाय निर्धारण गर्न सक्छ ।

संगठित अपराध दण्ड सजाय

संगठित अपराधको मुद्दा पनि कुन कसुरसँग सम्बन्धित हो भन्नेले तय गर्छ । सहकारी ठगीसँगको संगठित अपराधको आरोपमा जुन कसुर प्रमाणित भएको हो त्यसमा तय गरिएको जरिवाना र सजायको ५० प्रतिशतदेखि डेढ गुणासम्म सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

सम्पत्ति शुद्धीकरणको दण्ड सजाय

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने र सोको षडयन्त्र गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ ।
यी दण्ड सजायहरु प्रचलित कानूनमा रही अपराधको अवस्था लगायतका प्रमाणहरुका आधारमा अदालतले तय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *