जीबी राई कहाँ छन् ?
काठमाडौं : सहकारीको अर्बौ रकम अपचलन गरेको आरोप लागेको गितेन्द्रबाबु राई उर्फ जीबी राईको खोजी सुस्ताएको छ । सहकारी ठगी प्रकरणमा उनका साझेदारहरु रवि लामिछाने, छबिलाल जोशी, कुमार रम्तेल लगायतमाथि प्रहरी अनुसन्धान जारी रहँदा जीबीको खोजी सुस्ताएको हो । उनीमाथि के आरोप थियो ? कहाँ छन् जीबी
सहकारी ठगीको साम्राज्य खडा गरेका जीबी राई अहिले चर्चाभन्दा बाहिर छन् । चर्चामा छन् त केबल उनले सञ्चालन गरेको गोरखा मिडिया नेटर्वकका तत्कालीन साझेदार तथा रास्वपा सभापति रवि लामिछाने छन् भने अर्का साझेदार छबिलाल जोशीको पनि सामान्य चर्चा हुने गरेको छ ।
तर साझेदारका रुपमा मिसिएका व्यक्तिमाथि छानबिन जारी रहँदा जीबी राई कहाँ छन्, उनलाई पक्राउ गर्न र अनुसन्धान गर्न प्रहरीले के गरिरहेको छ भन्ने विषय सेलाउन थालेको छ ।
एक त जीबी राईले चलाएको सहकारी ठगीको साम्राज्य कत्रो थियो भन्नेमा प्रहरी अझै पनि निश्कर्षमा पुग्न सकिरहेको छैन । उनले सहकारी खडा गर्दै त्यसमा जम्मा हुने सर्वसाधारणको बचत अपचलन गरी आफ्ना कम्पनीहरुमा लगानी गरिरहेको देखिन्छ । यद्यपि कतिपय प्रमाणहरु नष्टसमेत भएको, कतिपय ठाउँबाट सम्पूर्ण उजुरीसमेत आइनसकेको, उनको नाममा रहेको चलअचल सम्पत्तिबारे समेत सबै विवरण सार्वजनिक नभएको जस्ता कारणले एकिन रुपमा उनले कति ठगे भन्ने सार्वजनिक भएको छैन ।
तर जीबी राईले सहकारीको चेन चलाएको र तीनमा आफ्ना मान्छेहरु राखेर व्यवस्थापन गर्ने गरेको, त्यहीँको पैसा आफ्ना कम्पनीहरुमा लगाउने गरेका जस्ता कुराहरु अनुसन्धानबाट खुलिसकेका छन् । जसमध्ये हालसम्म उनले १७ अर्बभन्दा बढी ठगी गरेको खुलेको छ ।
संसदीय छानबिन विशेष समितिले गरेको अनुसन्धानमा जीबी राईले अरुलाई परिबन्धमा पारेर सम्पत्ति हत्याउने गरेको पाइएको समेत उल्लेख छ । साथै पोखराको सूर्यदर्शन, बुटलको सुप्रिम, चितवनको चितवन सहारा, काठमाडौंको स्वर्णलक्ष्मी, पर्साको सानो पाइला लगायतका सहकारीबाट करोडौँ रुपैयाँ गोरखा मिडिया नेटवर्कमा लगेको समितिले अनुसन्धानका क्रममा भेटेको थियो ।
कहाँ छन् जीबी ?
जीबी मलेसियामा रहेको चर्चा भए पनि एकिन छैन । गत भदौमा एसपी नेतृत्वको प्रहरी टोली मलेसिया नै गएर जीबीको खोजी गरेको थियो त्यसअघि जीबी क्वालालम्पुरस्थित देशापण्डनमा रहेको एक अपार्टमेन्टमा देखिएको चर्चा भएको थियो । भदौ १० गते मलेसिया गएर २० गते फर्किएको प्रहरीले उनलाई भेटाउन नसकेको मात्र भन्यो । तर कतिपयले मलेसिया सरकारले रविलाई पक्राउ गर्न नेपाल प्रहरीलाई असहयोग गरेको भनेर चर्चा पनि गरे ।
प्रहरीले राईविरुद्ध इन्टरपोलमा पनि पत्राचार गरेको छ । तर उनीबारे प्रहरीले पछिल्लो पटक कुनै सूचना पाइएको बारे बताएको छैन । गृहमन्त्री रहँदा गत वर्षको चैतमा रवि लामिछानेले जीबी राई मलेसियामा रहेको र उनी बसेको ठाउँबारे जानकारी प्राप्त भइसकेको बताएका थिए । तर जानकारी पाएको भन्दै अभिव्यक्ति दिएको तर पक्राउ नगरेको भन्दै उनको आलोचना भयो ।
त्यस अघि गृहमन्त्री नहुँदै लामिछानेले अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीबी राईलाई भगाएको आरोप लगाएका थिए । तर एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले उक्त आरोपको खण्डन गरिसक्नु भएको छ। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा माओवादी उपमहासचिव वर्षमान पुनले जीबी राई नसमातिनुमा तत्कालीन सरकारको केही कमजोरी भएको स्वीकार गर्नुभएको थियो ।
पछिल्लोपटक गत महिना ओली सरकारले जीबी राईको राहदानी रोक्का गरिदिएको छ । राहदानी रोक्का भएपछि उनी कुनै देश आवतजावत गर्न पाउनेछैनन् । यद्यपि यसले मात्र जीबी राई तत्काल समातिने र पीडितले आफ्नो बचत फिर्ता पाउने सम्भावना देखिएको छैन । यो विषयमा सरकारले जति तदारुकताका साथ काम गर्नुपर्ने हो त्यो गर्न नसकेको टिप्पणी हुने गरेको छ ।
प्रतिक्रिया