Main News

जनकपुरविरुद्ध चितवन ३२ रनले विजयी, काठमान्डुले पोखरालाई हरायो

हिमालय टिभी
२०८१ मंसिर २९ गते १८:१६
जनकपुरविरुद्ध चितवन ३२ रनले विजयी, काठमान्डुले पोखरालाई हरायो

काठमाडौं :
जनकपुर बोल्ट्सविरुद्ध ३२ रनको जित निकाल्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपिएलको प्ले अफ सम्भावनालाई बलियो बनाएको छ ।

जितसँगै चितवनले सात खेलमा आठ अंक जोडेको छ । पारजित जनकपुरको समान खेलबाट १० अंक छ । जनकपुरले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । चितवनको यो जितसँग विराटनगर किंग्स र पोखरा एभेन्जर्सको प्लेअफ सम्भावना भने समाप्त भएको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा १४८ रनमा समेटियो ।

जनकपुरका लागि जिमी निसमले ६५, आसिफ शेखले २३, शुभ कंशाकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए । चितवनका लागि सोहेल तन्विर, रिजन ढकाल र कप्तान कुशल मल्लले समान दुई तथा अमरसिंह रौटेलाले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्यो । चितवनका लागि कुशलले ७२, रवि बोपाराले ४४, हसन इशाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए । चितवनका लागि ललित राजवंशीले २ विकेट लिए । उनी एनपीएलमा सर्वाधिक १३ विकेट लिने बलर बनेका छन् ।

आजै भएको पहिलो खेलमा जित निकाल्दै काठमाण्डु गुर्खाजले प्लेअफ सम्भावना बलियो बनाएको छ । उसले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै प्लेअफ खेल्ने सम्भावना कायम राखेको हो । १३९ रनको मध्यम लक्ष्य काठमाण्डुले ३५ बल अगावै चार विकेटको नोक्सानीमा भेट्टायो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित बीस ओभरमा आठ विकेटको नोक्सानीमा १३८ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *