शेखर कोइराला कमजोर हुँदा पनि घुर्की र फुर्ति ?
![शेखर कोइराला कमजोर हुँदा पनि घुर्की र फुर्ति ?](https://www.himalayatv.com/wp-content/uploads/2023/09/deuwa-koirala.jpg)
काठमाडौं : कांग्रेसको १४औँ महाधिवेशनमा बनेको गुट १५औँ महाधिवेशनमा फेरबदलको संकेत देखिएको छ ।
सभापति शेरबहादुर देउवा समूहसँग संस्थापन इतरका महामन्त्री गगन थापा मिल्ने तहमा पुगेपछि शेखर कोइराला कमजोर बन्दै जानुभएको छ । १४औँ महाधिवेशनमा शेखर कोइरालासमूहबाट महामन्त्री बन्नुभएका थापा अब १५औँ महाधिवेशनमा सभापतिको दाबेदार बन्नुभएको छ ।
अहिले देउवाले आफ्नो उत्तराधिकारी नै थापालाई बनाउनसक्ने आंकलनहरु भइरहेका छन् । यसो हुँदा शेखर कोइरालासँग कति नेता÷सांसद रहलान् ? अहिले कोइराला समूहको अवस्था कस्तो छ ?
२०७८ मंसिरमा भएको १४औँ महाधिवेशनले कांग्रेसमा मुलतः दुई गुट अस्थित्वमा ल्यायो । बाँकी उपगुटहरु बने । मुख्यतः संस्थापन समूहको नेताका रुपमा शेरबहादुर देउवाले नेतृत्व गर्दा संस्थापन इतरको नेतृत्व देउवासँग चुनाव हार्नुभएका शेखर कोइरालाले गर्नुभयो ।
देउवासँग विमलेन्द्र निधी, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शंसाक कोइराला रहँदा शेखरसँग महामन्त्री गगन थापा हुनुभयो । तर, अहिले परिस्थिति फेरिएको छ । यो परिस्थिति अहिले आएर फेरिएको होइन, यो २०७९ पुस ६ गते संसदीय दलको नेता चयनबाटै भएको हो । २०७९ को आम निर्वाचन सम्पन्न भएपछि कांग्रेसले संसदीय दलको नेता चयन गर्ने भयो ।
यसका लागि शेखर कोइराला आफैं उभिनुपर्ने थियो, तर नेतृत्वको दाउ छोप्नुभएका गगन थापा आफैं उत्रिने चाहनामा हुनुहुन्थ्यो । यो गुट भत्काउन यही नेर सभापति देउवाले पासा फालिदिनुभयो र शेखरलाई च्याप्नुभयो । यति बुझेका गगन थापाले आफूलाई स्थापित गर्नैका लागि उम्मेदवारी दिनुभयो । संसदीय दलको नेता चयनमा ८९ सांसदमध्ये गगनको पक्षमा २५ मत आयो ।
तर, संस्थापनइतर समूहसँग ३२ मत थियो । बाँकी ७ सांसद महामन्त्री थापाको पक्षमा देखिएनन् । यहीबाट गगनले १५औँ महाधिवेशनमा आफूलाई सभापतिका रुपमा उभ्याउने योजना बनाउनुभएको थियो । यसको असर शेखर कोइरालालाई पर्दै जान थालेको छ । अहिले शेखरप्रतिको आकर्षण घटेको देखिएको छ ।
केन्द्रीय समितिमा शेखर कोइराला
केन्द्रीय समिति संख्या –१६६
संस्थापनइतर पक्ष–३८
शेखर कोइराला समूह–१८
गगन थापा समूह–२०
संस्थापन पक्षसँग जोडिएका उपगुटको अभ्यासमा रहेका नेताहरुको अवस्था
संस्थापन पक्ष– १२८
शेरबहादुर देउवा समूह– ११६
प्रकाशमान सिंह समूह–३
कृष्णप्रसाद सिटौला समूह–६
शशांक कोइराल समूह–३
हाल एक सय ६६ मध्ये दुई तिहाइ बढी संस्थापन पक्षका छन् । शेखर पक्षमा रहेका झण्डै अढाइ दर्जन मध्ये डेढ दर्जन थापाको पक्षमा खुलेका छन् ।अहिले इतर समूहमा रहेका महामन्त्री थापा सभापति देउवासँग नजिकन थाल्नुभएको छ । थापा लामो समयदेखि इतरपक्षको छलफलमा पनि बस्नुभएको छैन ।
थापा कोइरालाबाट अलग भइरहँदा उहाँ मात्रै होइन् अन्यले पनि कोइरालाको साथ छोड्ने निश्चित छ, जस्तो संसदीय दलको निर्वाचनमा थापालाई मत दिएका २५ सांसदमध्ये अधिकांश थापा पक्षमा जानेछन् । निकट भविष्यमा थापा संस्थापन पक्षसँग नजिकिए ती डेढ दर्जन नेता पनि उतै लाग्नेछन् । यसले कोइरालालाई थप कमजोर बनाउँछ ।
प्रतिक्रिया