प्रधानसेनापति सिग्देल भारत प्रस्थान
काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गर्नुभएको छ ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंगलबार नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको हो।
उहाँले यही मङ्सिर २६ गतेदेखि मङ्सिर २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
प्रधान सेनापति सिग्देल सैनिक श्रीमती सङ्घकी अध्यक्ष तथा उनकी धर्मपत्नी नीता क्षेत्री सिग्देल सम्मिलित नौ सदस्यीय भ्रमण दलसहित भारत जानुभएको हो ।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई मङ्सिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम छ ।
त्यस्तै भ्रमणका क्रममा भारतका उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रमसमेत छ । प्रधान सेनापतिसहितको भ्रमण दल यही मङ्सिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ ।
प्रतिक्रिया