धनराजको नियत : आफैँ रकम तिर्ने अनि बाहिर गोहीको आँशु झार्ने ?
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ । जसले तीन महिना अघि मात्रै संसदमा ठूलो स्वरमा सहकारी ठगीको छानबिनको माग गर्नुभएको थियो । यतिसम्मकी संसदमै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नाडी खैँचेर झुत्ती खेल्ने प्रयास गर्नुभएको थियो ।
तर अहिले उनै गुरुङको नाम सहकारी घोटालामा मुछिएको छ। ‘इमान’ र ‘निष्ठा’को ठेकेदार भन्दै हिँड्ने गुरुङमाथि अहिले उनकै पूर्व श्रीमतीको नेतृत्वमा भएको सहकारीको ठूलो रकम हिनामिना प्रकरणमा संलग्नता रहेको आरोप लागेको छ। संसददेखि सार्वजनिक मञ्चहरूमा एकपछि अर्को झुट बोल्दै आफुलाई बचाउन प्रयासरत हुनुहुन्छ । लुकीलुकी सहकारीमा ८१ लाख तिर्ने अनि बाहिर गोहीको आँसु झार्ने काम भने गुरुङबाट भइरहेको छ ।
– मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा सांसद धनराज गुरुङको नाममा उजुरी
– साउन १४ मा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी
– पूर्व श्रीमतीले सहकारीबाट हिनामिना गरिएको रकम ‘बिट क्वेन’मार्फत थाइल्यान्ड लगेको धनराजको दावी
प्रतिनिधिसभाको बैठकमा कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङले रवि लामिछानेविरुद्ध सहकारी ठगी छानबिन गर्नुपर्ने भन्दै भएको विरोधको क्रममा सत्तापक्षको बेञ्चमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरेको अभद्र व्यहावरको दृष्य हो । तर अहिले उनै गुरुङमाथि सहकारी ठगीमा संलग्न रहेको आरोप लाग्दा, ‘चोरको स्वर ठूलो’ भनेको उखान बडो मिलेको देखिन्छ।
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको १४ करोड ८१ लाख हिनामिनामा सांसद गुरुङको नाममा उजुरी परेको थियो । गुरुङ र उहाँकी श्रीमती ज्योति गुरुङसहित चार जनाको नाम किटान गरेर सहकारीले गत साउन १४ मा बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो । तर, कार्यालयले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई सिफारिस गर्दा धनराजको नाम हटाएर अन्य पाँचजनाको मात्रै पठाएको थियो । रजिष्ट्रारले यसमा सहकारी प्रकरणसँग सरोकार राख्ने व्यक्ति नभएकोले नाम हटाएको दावी गरेको छ । तर खासमा यो दबाबमा हटाइएको थियो ।
किनकी उजुरीमा कांग्रेसका उपसभापति गुरुङको नाम थियो । तर गुरुङले यसलाई श्रीमतीसँग सम्बन्ध विच्छेद हुनुअघिको विषय भएको भन्दै आफ्नो संलग्नता नकार्दै आउनुभएको छ । गुरुङका अनुसार श्रीमतीसँग २०७६ फागुन २९मा सम्बन्धविच्छेद भएको भनिएको छ । र त्यसअघि धनराजकै नाममा ऋण झिकेको खुल्न आएको छ । तर उहाँले सदन देखि सञ्चारमाध्यममा एकपछि अर्को झुट बोलिरहनुभएको छ ।
धनराज गुरुङले बोलेका झुट
झुट नम्बर-१ :
धनराज गुरुङ : मेरो ज्योति गुरुङसँग २०७६ फागुन २९ मा सम्बन्ध विच्छेद भएको हो ।
सत्य : यदि २०७६ मा सम्बन्ध विच्छेद भएको भए, २०७९ मा सम्पन्न निर्वाचनमा उम्मेदवारको व्यक्तिगत विवरणमा किन ज्योतिको नाम राखियो ? यो विवरण निर्वाचन आयोगले उम्मेदवारले दाखिला गरेको आधारमा प्रविष्ट गर्ने हो । सम्बन्ध विच्छेद भएको लामो समयपछि पनि कतै श्रीमतीको नाम राखिन्छ र ? कि पूर्वपत्नीसँग फेरि विवाह भयो त ?
झुट नम्बर-२ :
धनराज गुरुङ : पूर्व श्रीमीतले ऋण लिएको विषयलाई मसँग जोड्न जरुरी छैन ।
सत्य : त्यसो हो भने सम्बन्ध बिच्छेद भएकी श्रीमतिको नामको ८१ लाख ऋण चाहिँ किन तिरेको ? सहकारीबाट लिएको कर्जाको साँवा ब्याज बापत गएको २०८१ बैशाख १७ गते एक दिनमै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट गुरुङले ६८ लाख २६ हजार ९ सय १४ रुपैयाँ चेक मार्फत सहकारीमा रकम जम्मा गरेको यो रसिद हेर्नुहोस् । यो रसिद कुनै पनि व्यक्तिले रुकम जम्मा गरेपछि सहकारीले दिने रसिद हो ।
त्यसपछि गएको जेठ ६ गते पनि गुरुङले सहकारीमा श्रीमती र आफूले लिएको कर्जाको साँवा ब्याज वापत ८ लाख ९८ हजार ७२० रुपैयाँ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मार्फत नै रकम जम्मा गरेका प्रमाण प्राप्त भएको छ।
झूट नम्बर ३ :
धनराज गुरुङ : मेरो उजुरीकर्ता कुम्भराज गुरुङसँग भेट भएको छैन ।
सत्य : मगर संघको कार्यकक्षमा ११ जनासँगको उपस्थितिमा भेट भएको कुम्भराजको दावी छ ।
झुट नम्बर ४ :
धनराज गुरुङ : सम्बन्ध विच्छेदपछि ज्योति गुरुङसँग कुनै सम्बन्ध र भेटघाट छैन ।
सत्य : अमेरिकामा नेपाल विद्यार्थी संघको कार्यक्रममा जाँदा ज्योति पनि सँगै गएको दावी छ ।
बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयको झुट
रकम हिनामिनामा ६ जनाको संलग्नता औँल्याएपछि सहकारी सञ्चालक समितिको बैठकले घटनामा संलग्नविरुद्ध प्रहरीमा उजुरी गर्ने निर्णय गरेको थियो । हेटौँडास्थित बागमती प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा गुरुङको नाम राख्दा कार्यालयले घटनाको अनुसन्धानका निम्ति सिआइबीलाई सिफारिस गर्ने क्रममा धनराजको नाम काटेको थियो ।
अपराध ढाकछोप गर्ने धनराज
धनराजले पछिल्ला दिनमा हरेक मिडियामा पूर्व श्रीमतीले सहकारीबाट हिनामिना गरिएको रकम ‘बिट क्वेन’मार्फत थाइल्यान्ड लगेको भनिरहेका छन् । देशको सार्वजनिक पद धारण गरेका व्यक्ति, नेता, जसले अपराध देखिए ढाकछोपको सट्टा प्रहरीलाई सूचना दिनुपर्नेमा उल्टै अपराधको संरक्षण गरेको यो भन्दा ठूलो प्रमाण के होला र ? किनकी बिटक्वेनको कारोवार नेपालमा अवैध छ । र कानूनत: दण्डनीय पनि छ ।
आफैं रकम तिर्ने अनि बाहिर गोहीको आँशु झार्ने ?
हिमालय टेलिभिजनले प्राप्त गरेको प्रमाणमा भटाभट बैँक खाताबाट पैसा मितेरी सहकारीलाई तिरिएको पाइएको छ । यदि यससँग कुनै पनि सम्बन्ध छैन भने के आधारमा गुरुङले रकम तिरिरहनुभएको छ । र यत्रो रकम उहाँलाई कसरी प्राप्त भयो ? सांसदको मात्रै तलबले त यति रकम जम्मा हुँदैन । कानूनमन्त्री हुँदा धेरैजनासँग व्यवहार मिलाउनु छ भन्दै रकम माग गरेको समेत जानकारी हामीले प्राप्त गरेका छौँ । सायद त्यो यसैका लागि थियो ।
पछिल्लो समय धनराजले आफैँलाई पीडित देखाएका छन् । सार्वजनिक रूपमै भावुक भएका छन्, आँसु बगाएका छन् । सहकारी पीडितको आँसु र पसिना भन्दा गुरुङका आँसु बिकिरहेका छन् ।
तर सार्वजनिक कार्यक्रममा आँशु बगाउने अनि सहकारीमा भने मासिक लाखौँ रकम किन र केका लागि तिरिरहेका छन् ? गुरुङ झुट बोलिरहेको प्रष्ट छैन र ? जनताका आँसु र सहकारी पीडितका आवाजहरूलाई प्राथमिकता दिँदै, सत्यको उजागर गर्न र गुरुङमाथि निष्पक्ष छानबिन गर्न आवश्यक छ।
चाहे सहकारी घोटालामा उनको सीधा संलग्नता होस् वा सहकारीबाट हिनामिना गरिएको रकम तिर्ने गुरुङको अनौठो हर्कत, यसको निष्कर्षमा पुग्नुपर्ने बेलामा राज्य संयन्त्रले राजनीति होइन, न्यायलाई प्राथमिकता दिनैपर्छ।
प्रतिक्रिया