Main News

काठमाडौंवासीको घाउमा रास्वपाको नुनचुक (भिडियोसहित)

हिमालय टिभी
२०८१ भदौ २७ गते २०:२५
काठमाडौंवासीको घाउमा रास्वपाको नुनचुक (भिडियोसहित)

काठमाडौं : सर्वोच्च अदालतको आदेशले काठमाडौं उपत्यकावासीको बासस्थान संकटमा पार्दै गर्दा, आफैंले विश्वास गरेर चुनेका जनप्रतिनिधिहरूको व्यवहारले उपत्यकावासी मुर्छित भएका छन् ।

नदीको बहाव क्षेत्रको मापदण्ड २० मिटरले बढाउने आदेशले हजारौं घरहरू ध्वस्त हुने र लाखौं जनता सुकुम्बासी बन्ने खतरा मडारिँदा जनताको पक्षमा उभिनुपर्ने सांसदहरू नै उल्टै अदालतको फैसलाको समर्थन गर्न थालेपछि काठमाडौंबासी निराश र आक्रोशित छन्।
वैकल्पिक शक्ति भन्दै गत चुनावमा उदाएको दल रास्वपाले काठमाडौंवासीको घाउमा मल्हम लगाउनुको सट्टा उल्टै अदालतको आदेशको पक्षमा वकालत गर्दा काठमाडौंवासीले घाउमा नुनचुक छर्केको महसुस गरेका छन् ।

– गत निर्वाचनमा रास्वपाले काठमाडौं उपत्यकामा ५ सिट जितेर दोस्रो स्थान हासिल गरेको थियो
– काठमाडौंका १० मध्ये ४ सिटमा रास्वपा विजयी
– रास्वपाका सांसदद्वारा मतदाता थप मर्माहत हुने गरी अदालतको फैसलाको समर्थन
-उपत्यकाका मतदाताहरूको आक्रोश काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहप्रति पनि लक्षित
– उपत्यकाका ८० हजार घर ध्वस्त हुने र ५ लाखभन्दा बढी जनता सुकुम्बासी बन्ने खतरा
-नेपाली कांग्रेस र एमाले खुलारूपमा सर्वोच्चको आदेशको विपक्षमा

काठमाडौं उपत्यकाका तीन जिल्लामा कुल १५ निर्वाचन क्षेत्र छन् । भक्तपुरमा २, ललितपुरमा ३ र काठमाडौंमा १०। गत निर्वाचनमा नेपाली कांग्रेसले ७ सिट जितेर पहिलो दल बनेको थियो भने रास्वपाले ५ सिट जितेर दोस्रो स्थान हासिल गरेको थियो। काठमाडौंका १० मध्ये ४ सिटमा रास्वपा विजयी भयो । जसमा खनालको नेतृत्वमा काठमाडौं ६, गणेश पराजुली काठमाडौं ७, विराजभक्त श्रेष्ठ काठमाडौं ८ र सोविता गौतम काठमाडौं २ बाट विजयी भए। यसरी जिताएर पठाएका जनप्रतिनिधिले मतदाताको पीडा बुझ्ने अपेक्षा गरिएको थियो ।

तर काठमाडौंवासीलाई सर्वोच्च अदालतको आदेश र काठमाडौं महानगरपालिकाले सूचनाले भन्दा चुनेर पठाएका जनप्रतिनिधिको बोलीले बढी पीडा दिएको छ । सबै राजनीतिक दल अदालतको आदेशको विपक्षमा रहँदै सरकारलाई पुनरावलोकनमा जान सुझाव दिइरहँदा रास्वपाका सांसदले भने मतदातालाई थप मर्माहत हुने गरी अदालतको फैसलाको समर्थन गरेका छन् । यो सुन्नुहोस् त ! काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद शिशिर खनालको बोली ।

खनालको यो भनाइ रास्वपाको भनाइ हो । संसदको रेकर्डमा रहने गरी खनालले रास्वपा अहिले काठमाडौंका जनताको पक्षमा छैन भन्ने गरि दिएको यो अभिव्यक्ति । तर खनालको यो भनाइमा उहाँकै मदाता भने आक्रोशित छन् । जहाँ मतदाताहरू आफ्नै निर्वाचित प्रतिनिधिहरूको विरोधी भूमिकाबाट दुःखी र खिन्न छन्। उहाँको निर्वाचन क्षेत्रमा पर्ने रानीबारीका मतदाताले खनालको बोलीले हाम्रो मतको खिल्ली उडाएको र अत्याचार गरेको टिप्पणी गरेका छन् ।

खनाल मात्र होइन, काठमाडौं ७ का सांसद गणेश पराजुलीका मतदाताहरूमा पनि गहिरो असन्तुष्टि छ। उनीहरूको ठम्याइ छ कि रास्वपाले मतदाताहरूको भावना बुझ्न असफल भएको छ । र रास्वपा अदालतको पक्षमा उभिँदा मतदाताको मन कुँडिएको छ । यसबाहेक, उपत्यकाका मतदाताहरूको आक्रोश काठमाडौं महानगर प्रमुख वालेन्द्र साहप्रति पनि लक्षित भएको छ, जसले अदालतको आदेश कार्यान्वयनको लागि सूचना जारी गरे। साहको यो कदमले ८० हजार घर ध्वस्त गर्ने र ५ लाखभन्दा बढी जनतालाई सुकुम्बासी बनाउने खतरा उत्पन्न गरेको भन्दै मतदाताहरू रुष्ट बनेका छन् ।

काठमाडौंमा रास्वपाले जुन स्वार्थी र जनविरोधी दृष्टिकोण अपनाएको छ, त्यसले आगामी निर्वाचनमा मतदाताहरूबाट ठोस प्रतिक्रिया आउने प्रष्ट छ। मतदाताहरू यसको जवाफ आगामी चुनावमा दिने भन्न थालेका छन् । यति ठूलो संकटका बेला जनताको पक्षमा बोल्न नसक्ने दललाई आगामी चुनावमा जनता के आशा गर्ने? प्रश्न मतदाताको छ ।

नेपाली कांग्रेस र एमाले खुलारूपमा सर्वोच्चको आदेशको विपक्षमा उभिएका छन्। तर रास्वपा पक्षामा उभिएर काठमाडौंवासीको घर भत्कनैपर्छ जसरी वकालत गरिरहेको छ । हुन त चुनाव हुँदा मतदातामैत्री व्यवहार गर्ने र चुनावपछि बिर्सने गरेको भन्ने मतदाताको गुनासोलाई रास्वपाले पुष्टि गरेको छ । उपत्यकाबासीको भविष्यको विश्वासमा रास्वपाले लगाएको खलनायकको छाप आगामी चुनावमा मतपत्रको छापमा पक्कै देखिएला ।

किनकी काठमाडौंवासी उभिँदा नै मुलुककमा परिवर्तनको शंखनाद भएको छ । यही काठमाडौंवासीले बालेन्द्रलाई मेयर बनाउँदा यही उपत्यकावासीले रास्वपालाई पाँच सिट दिएको हो । सच्चिने कि सक्किने रास्वपालाई अझै पनि समय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *