विवादको अर्को नाम धनराज गुरुङ (भिडियोसहित)
काठमाडौं : सहकारी प्रकरण छानबिन गर्न बनेकाे संसदीय छानबिन विशेष समितिमा ललितपुर महालक्ष्मीमा रहेकाे मितेरी सहकारीकाे प्रसंग आयाे । याे प्रकरणमा अरु काेही नभएर कांग्रेस उपसभापति धनराज गुरुङ र उहाँकी पत्नी मुछिएकाे विषय अहिले चर्चामा छ । विभिन्न काण्डमा चर्चामा रहने कांग्रेस उपसभापति गुरुङलाई सहकारीले पोलेको छ । तर चोरका हजार दाउ भनेझैँ आफु जोगिन ति व्यक्तिले आफ्नै श्रीमतीसँग डिभोर्स समेत गरे । तर ढाँटे कुरा काटे मिल्दैन भनेझैँ जसले २०७६ मा श्रीमतीसँग डिभोर्स गरे उनैको नाम श्रीमतीमा उल्लेख गरेर २०७९ को चुनावमा होमिए ।
अहिले त श्रीमतीलाई देखाएर मितेरी सहकारीको १४ करोड ठगी उजुरीबाट उम्कने प्रयास गर्दैछ्न् । र यि पात्र अरु कोही नभएर कांग्रेस उपसभापति धनराज गुरुङ हुन् ।
– सरकारी रेकर्डमा धनराज गुरुङले श्रीमतीसँग डिभाेर्स नगरेकाे तथ्य फेला
-निर्वाचन आयाेगकै रेकर्डमा पत्नीकाे काेलममा डिभाेर्स गरिएकी भनिएकी ज्याेति गुरुङकाे नाम उल्लेख
– मितेरी बचत तथा ऋण सहकारी संस्थामा १४ करोड ८१ लाखको हिनामिना
– सहकारी प्रकरणमा मुछिएपछि भूतपूर्व श्रीमतीले गठी गरेको तर्क
– २०७६ साल फागुनमा डिभोर्स गरेको कथा, २०७९ मा चुनाव लड्दा उही श्रीमतीको नाम
– समस्यामा परेका भनिएका १२ वटै संस्थाका अध्यक्षको श्रीमतीसँग डिभोर्स
– गुरुङले तीन पटकसम्म घरमा बोलाएर यो विषय बाहिर कतै नभन्न भनेको कुम्भराजको बयान
– २०५५ सालमा कूटनीतिक राहदानी दुरुपयोग प्रकरणबारे अनुसन्धान गर्न गठित छानबिन समितिको प्रतिवेदनमा धनराज गुरुङको नाम
सहकारी प्रकरणमा मुछिनुमात्र हाेइन, जाेगिन श्रीमतीसँग डिभाेर्स गरेकाे भन्दै कांग्रेस उपसभापति धनराज गुरुङ जाेगिने दाउमा हुनुहुन्छ । तर, सरकारी रेकर्डमा उहाँले श्रीमतीसँग डिभाेर्स नगरेकाे तथ्य फेला परेकाे छ । निर्वाचन आयाेगकै रेकर्डमा उहाँकी पत्नीकाे काेलममा डिभाेर्स गरिएकी भनिएकी ज्याेति गुरुङकाे नाम उल्लेख छ । अर्थात धनराजले झुट बाेलेकाे निर्वाचन आयाेगकाे रेकर्डले देखाउँछ । याे रेकर्ड २०७९ सालकै हाे ।
उहाँले त २०७६ साल फागुनमै अदालतमार्फत डिभाेर्स गरेकाे विवरण दाबी गर्दै आउनुभएकाे छ । गुरुङकाे झुटकाे विवरण यतिमा मात्र सिमित छैन ।
जसले सहकारी ठगीमा करोडौं अपचलन गरेको रहेछ, उ आफ्नो अस्तित्व लुकाउँदै उल्टै अरुलाई संसदमा ठूलो स्वरले चिच्याएर छानबिनको माग गरेको कतै लुकेको छैन । जसका लागि कराइएको थियो त्यसमाथि छानबिन चलिरहेकै छ । तर गुरुङले आफुमाथि पनि यो सुई आउला भन्ने कल्पना पक्कै गरेका थिएनन् । मितेरी बचत तथा ऋण सहकारी संस्थामा १४ करोड ८१ लाखको हिनामिना गरेपछि पनि उहाँ हाँस्दै हिंडिहरनुभएको थियो । अझ अग्रपंक्तिमा रहेर सहकारी ठगलाई कारवाही गर्ने नारा लगाउँदै हुनुहुन्थ्यो । र जब अहिले सहकारी प्रकरणमा मुछिनुभयो तब भन्नुहुन्छ- यो ठगी मैले होइन मेरो भूतपूर्व श्रीमतीले गरेको हो ।
अचम्म त के छ भने २०७६ साल फागुनमा डिभोर्स गरेको कथा बुन्नुभएका गुरुङले सायद २०७९ मा चुनाव लड्दा उही श्रीमतीको नाम राख्नुपर्योफ । सायद श्रीमान्-श्रीमतीको प्रेम अजबको थियो कि डिभोर्स भइसक्दा पनि निर्वाचन आयोगले रेकर्ड गर्ने उम्मेदवारको विवरणमा श्रीमतीको नाम परेको । तर आयोगले त त्यही विवरण प्रवीष्ट गर्ने हो, जुन उम्मेदवारले भरेर दिन्छन् ।
हुन त गुरुङको यो झुट पत्याउन किन पनि मुस्किल छ भने सहकारी ठगी गर्नेको यो योजनाबद्ध शैली हो । जस्तो समस्यामा परेका भनिएका १२ वटा संस्थाको वित्तीयदेखि सबै अवस्था हेर्दा आश्चर्य के छ भने १२ वटै संस्थाका अध्यक्षले श्रीमतीसँग डिभोर्स गरेका छन् । योजनाबद्ध नभएको भए १२ जना अध्यक्षको नै डिभोर्स हुन्छ ? फेरि कागजमा डिभोर्स छ, तर सँगै बसिरहेका छन् ।
संसदमा आरोप लागेपछि गुरुङले मंगलबार प्रष्टीकरण दिँदै छानबिन समितिको माग गर्नुभएको छ । त्यस्तो छानबिन जसले पासपोर्ट प्रकरणमा क्लिन चिट दियो सायद त्यस्तै खोजिरहनुभएको छ ।
निकै भावनात्मक रूपमा संसदमा आफ्नो धारणा राख्नुभएका गुरुङले उम्मेदवारी दिँदा नाम किन राखियो त्यो चाहिँ भन्नुभएन । तर खासमा गुरुङमाथि लगाइएको आरोप अरु कसैले नभएर उहाँकै पार्टीका नेताले हो । कुम्भराज गुरुङले हो । कुम्भराजले संसदीय छानबिन समितिमा दिएको उजुरी र बयानमा धनराजले आफ्नी पूर्वश्रीमतीलाई मितेरी सहकारीको म्यानेजर र फाइनान्स प्रमुख बनाउन मञ्जुरी दिएका थिए ।
सहकारी ठगी सम्बन्धमा छानबिन गर्न संसदीय समिति बनेपछि आफूलाई गुरुङले तीन पटकसम्म घरमा बोलाएर यो विषय बाहिर कतै नभन्न भनेको पनि कुम्भराजले समिति समक्ष बयान दिनुभएको छ । ‘सहकारी ठगी सम्बन्धमा संसदीय समिति बनेपछि धनराजजीले घरमा बोलाएर तीन पटक छलफल गर्नुभयो । ‘आफ्ना छोरा छोरीहरू विदेशमा रहेको र उनीहरूले पैसाको व्यवस्था गर्ने भन्दै यो कुरा कतै नभन्न धनराजजीले आग्रह गर्नुभयो ।’ बयानमा भनिएको छ । आखिर, एउटै पार्टीमा बसेर पनि आफ्नै उपसभापति गुरुङबाट पीडित भएको कुरा गर्ने कुम्भराजको बोलीमा कुनै दुःखमात्र होइन, एक प्रकारको हतास पनि छ।
तर, गुरुङको त के कुरा गर्नु र ? सबैलाई डिभोर्सको कथा सुनाएर पन्छिने उहाँको कला छरपष्ट भएको छ । यतिमात्र हाेइन उहाँ त २०५५ सालमा कूटनीतिक राहदानी दुरुपयोग प्रकरणबारे अनुसन्धान गर्न गठित श्रीकान्त रेग्मीको नेतृत्वको छानबिन समितिको प्रतिवेदनले धनराज गुरुङको नाम सार्वजनिक गरेको थियो । किनभने गुरुङको बारेमा समितिसँग प्रमाण थियो । हुन त अहिले गुरुङले यसमा क्लिन चिट पाइसक्नुभएको छ । तर शक्तिको आडमा । कसरी दियो ? यसलाई कानुनी जादु भन्न सकिन्छ। हुन त कुनै समय बेलायतमा रेष्टुरेण्ट चलाएर बसेका महेन्द्रध्वज जिसीले गुरुङको पासपोर्टमा पिसी गरेर आएको खुलेको थियो । सफेद झुटमाथि पर्दा राखेपनि गुरुङको यो झुट कसैले पत्याउँदैनन् ।
गुरुङजस्ता पात्रहरूको कर्तुत उजागर हुनु जरुरी छ, जसले लोकतन्त्रको मञ्चमा उभिएर झुटको जलप लगाइरहेका छन्। कुनै पनि लोकतान्त्रिक देशमा कानूनको पालना मात्र होइन, नैतिकताको पालना पनि उत्तिकै जरुरी छ। गुरुङमाथि छानबिन गरेर कानुनी र नैतिक दुवै दृष्टिकोणबाट एक उदाहरणीय कदम चाल्नैपर्छ।
प्रतिक्रिया