कहाँ छन् जीबी राई ?
काठमाडौं : सहकारीको आवरणमा १७ अर्बभन्दा बढी रकम ठगेको आरोप लागेका गितेन्द्रबाबु जीबी राईको खोजी जारी राखेको दुईवर्ष हुनै लागिसक्यो ।
प्रहरीले राई मलेसियामा रहेको बताइरहँदा उनी किन पक्राउ परेनन् ? उनलाई जोगाउन खोजिएको हो वा नभेटिएकै हुन त ? प्रश्न सरकारसामु तेस्रिएको छ । कहाँ छन्, जीबी राई ?
भदौ १० गते एसपीको नेतृत्वमा सईसहित पाँच जनाको टोली मलेसिया पठायो । जीबी राई मलेसियामा रहेको तथ्यसहित प्रहरीले खोजि जारी राख्यो । तर, उनी फेला परेनन् । प्रहरी स्रोतका अनुसार क्वालालाम्पुरको देशापण्डनमा रहेको अपार्टमेन्टमा राई भेटिएका थिए ।
उनी त्यहाँ उनले मार्ट सञ्चालन गरेको प्रहरी एकीन गरेको छ । मलेसियाको ‘मलेसिया माइ सेकेन्ड होम’ कार्यक्रम अन्तर्गत उनी त्यहाँ व्यवसाय गर्दै रहेका छन् । त्यसैले मलेसिया सरकारलाई नेपाल प्रहरीलाई जीबी राई बुझाउन तयार भएन । प्रहरीको टोली रित्तो हात फर्किएका छन् । नेपाल प्रहरीले विभिन्न सहकारी ठगी गर्दै आर्थिक अपचलन गरेको आरोपमा उनीविरुद्ध इन्टरपोलमा जानकारी गराएको छ । मलेसियामा पुगेको नेपाल प्रहरीको टोलीलाई सहयोग गर्नका लागि इन्टरपोलले समेत मलेसियन प्रहरीलाई पत्राचार गरेको थियो ।
परराष्ट्रमन्त्रालयले समेत पत्राचार गरेको थियो । तर, सुपुर्दगी सन्धि नभएकाले अर्को देशमा पठाउन नसक्ने मलेसियाली प्रहरीले अडान लिइदियो । १० दिन विताएर नेपाल प्रहरीको टोली भदौ २० गते स्वदेश फर्किएको छ । त्यसपछि आफ्ना विभिन्न संयन्त्रमार्फत प्रहरीले मलेसियामा जीबी राईविरुद्ध निगरानी गरिरहेकै थियो । अहिले उनी मलेसियाको त्यस क्षेत्रमा देखिएका छैनन् । प्रहरीले उनी भारत हुँदै नेपाल आएकाे हुनसक्ने अनुमान गरेको छ । खोजी कार्य जारी राखेको प्रहरीले जानकारी दिएको छ ।
अनौठो के छ भने, जीबी आईको नेपाली राहदानी नेपालमा अन्तिम पटक ‘इन्ट्रि’ २०२३ को अगस्ट २७ मा देखिएको छ । तर, नेपालबाट ‘एक्जिट’ छैन । उनी नेपालको स्थलमार्ग हुँदै भारतबाट मलेसिया पुगेको प्रहरीको निश्कर्ष थियाे । त्यसैका आधारमा प्रहरी महानिरीक्षक बसन्त कुँबरले गएको चैत १४ गते जीबी राई मलेसियामै रहेको तर, सुपुर्दगी सन्धि नभएका कारण फिर्ता ल्याउन नसकिएको संसदको राज्यव्यवस्था समितिमा जानकारी गराउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागमा पत्राचार पनि गरेको थियो तर, अदालतको आदेशविना रद्द गर्न नमिल्ने जवाफ विभागले दिएको थियो ।
प्रहरीले कास्की जिल्ला अदालतमा पनि राईको राहदानी रद्द गर्न निवेदन दिएको थियो, तर अदालतले अस्वीकार गर्यो । अहिले उनी मलेसियाको माइ सेकेन्ड होम कार्यक्रम अन्तर्गत मलेसियाकै नागरिक सरह हैसियतमा त्यहाँ व्यापार व्यवसायमा संलग्न रहेको प्रहरीको तथ्य बोल्छ ।
मलेसियामा प्रहरी पुगेपछि त्यहाँबाट पनि भागेका राई भारतको बाटो हुँदै नेपाल आएको अनुमान प्रहरीले गरेको छ । ललितपुर इमाडोलस्थित बुढाथोकी थरका एक कानून व्यवसायीको घरमा राई देखिएको प्रहरी गुप्तचर स्रोतले बताएको छ । उनी कागजपत्र मिलाउन आएको आशंका गरिएको छ । ग्यालेक्सी फो के टेलिभिजनका अध्यक्षसमेत रहेका राईका पूर्वसाझेदार तत्कालीन प्रबन्ध निर्देशक हालका रास्वपा सभापति रवि लामिछानेसँग पनि भेट गरेको हुनसक्ने प्रहरी स्रोतले दाबी गरेको छ । लामिछाने पहिलोपटक २०७९ पुसमा गृहमन्त्री बनेका बेला राई लामिछानेको घर नै पुगेर बधाई दिएका थिए । त्यहाँ जोगाउने आश्वासन पाएको पनि स्रोतले बताएको छ । अहिले पनि लामिछानेसँग उनको निकटसम्बन्ध रहेको नजिकबाट चिन्नेहरु बताउँछन् । राईका अर्का साझेदार कुमार रम्तेल भने कारागारमा नै छन् ।
राईविरुद्ध सूर्यदर्शन सहकारी पोखरा, सुप्रिम सहकारी बुटवल लगायतमा रकम हिनामिना गरेको आरोप छ । त्यही रकम टेलिभिजनमा लगानी गरेको भन्दै एक हजारभन्दा बढीले उजुरी दिएका छन् । उनीविरुद्धको उजुरी छानबिन गर्न संसदीय विशेष समितिले छानबिन जारी राखेको छ ।
प्रतिक्रिया