संगीना वैद्यले दिइन् उपनिर्देशकबाट राजीनामा
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपको निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको आरोप लगाउँदै उपनिर्देशक संगीना वैद्यले राजीनामा दिएकी छन् ।
तत्कालीन निर्देशक प्रचण्ड शर्मा भदौ १९ गते अवकाश भएपछि राखेपका उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो । अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईलाई जिम्मेवारी दिएका छन् । यो प्रकृया चित्तबुझ्दो नभएको भन्दै वैद्यले उपनिर्देशकबाट राजीनामा दिएकी हुन् ।
आत्मसम्मानको लागि आफूले राजीनामा दिएको वैद्यले बताएकी छन् । अहिले कायम रहेका उपनिर्देशक सिंह भने वैद्यभन्दा पनि वरिष्ठ कर्मचारी हुन् । ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन् ।
यसैगरी प्रसाईले सोही वर्षको असोज १ गते रापेमा कर्मचारीको जिम्मेवारी पाएका थिए । संगीनाको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो । यसकारण पनि वैद्य प्रसाईभन्दा वरिष्ठ हुन् । यस विषयमा राखेपले सिचुएसनल डिसिजन समय अनुसारको निर्णय भनेर व्याख्या गरेको छ । राखेप सदस्यसचिव घिसिङले स्टेकहोल्डहरुको सुझाव र परामर्शको बीचबाट यो निर्णय लिइएको जानकारी दिए।
प्रतिक्रिया