संसदमा एमाले-माओवादी दोहोरी, कांग्रेस स्रोता
काठमाडौं : सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच सदनदेखि सडकसम्म एक अर्काको सत्तोसराप गर्ने क्रम बाक्लिएको छ ।
पछिल्लो समय एमाले र माओवादीबीच सशस्त्र युद्ध र डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विषयमा छेडखानी चलिरहेको छ । एक दल सत्ताबाट सडकमा पुगेको पीडाको अभिव्यक्ति र अर्को दल सत्ताको उन्मादले संयम गुमाइरहेको देखिन्छ । तर एमालेसँग सत्तासहकार्य गरिरहेको नेपाली कांग्रेसले भने दुई दलको जुहारीमा आश्चर्यजनक मौनता साँधिरहेको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मात्रै होइन, एमाले र माओवादीका अन्य नेताहरु पनि एकअर्कोविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन । बिहीबार प्रतिनिधिसभाकै बैठकमा एमाले र माओवादी केन्द्रका सांसदबीच छेड्खानी चल्यो ।
संसदमा मात्रै हैन अन्य सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा माओवादी र एमालेबीच एकअर्कोविरुद्ध कसले बढी गाली गर्ने भन्ने होडबाजी छ । गत असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएर सत्ता सहकार्य गरेपछि एमाले र माओवादीबीच वाकयुद्ध चलेको हो ।
एमालेका कारण सत्ताबाट सडकमा पुगेको बुझेको माओवादी पूर्वसहयात्री एमालेसँग आक्रोशित भएको हो । तर सत्ता सहयात्रामा सँगै रहेको नेपाली कांग्रेस भने दुई कम्युनिष्ट पार्टी लडेको हेरेर आनन्द लिइरहेको छ । के एमाले र माओवादीको बेमेलले आफूलाई फाइदा हुने देखेर कांग्रेस मौन बसेर रमाइरहेको हो त ?
एमाले र माओवादीबीच सँगै हुँदा चाटाचाट र अलग हुँदा काटाकाट हुनु सामान्य भइसकेको छ । राजनीतिमा असम्भव भन्ने केही छैन भन्ने बुझेर पनि एक अर्कोविरुद्ध किन खनिरहेका छन बुझिनसक्नु छ । एमालेले अब माओवादीसँग कुनै पनि सहकार्य सम्भव छैन भन्ने निष्कर्षमा पुगेर तल्लोस्तरको गालीगलौजमै उत्रिएको हो त ?
एमाले र माओवादी एकअर्काविरुद्ध आक्रामक भइरहँदा कांग्रेसको मौनतालाई अर्थपूर्ण तरिकाले हेरिएको छ । ७ बुँदे सहमति भएकै बेला ओली कार्यान्वयनमा इमान्दार हुँदैन भन्ने शंकाले काम गरेको हुनसक्छ । कांग्रेसको शंकालाई निराकरण गर्नका लागि ओलीले आफ्नो तोकिएको कार्यकाल भन्दा दुई हप्ता अघि नै सरकार हस्तान्तरण गर्ने अभिव्यक्ति नै दिनुभयो । त्यसमा पनि विश्वस्त नभएर कांग्रेसले जुनसुकै बेला सत्ता सहयात्रा गर्नुपर्छ भनेर नरम भएको त हैन ?
प्रतिक्रिया