डेंगु संक्रमण सरकारको कार्यशैलीमा प्रश्न
काठमाडौं : बर्सेनि डेंगुको संक्रमण देखिइनै रहन्छ, यसले बर्सेनि नागरिकको मृत्यु भइरहेको छ । सरकार रोकथामका लागि न काम गर्छ न त लाग्नै नदिने गरी पूर्वतयारी गर्छ । अन्य संक्रमण र महामारी झैं यसमा पनि सरकार मृत्युपछिको उपचार गरिरहेको छ ।
पछिल्लो ३ वर्षको तथ्यांक
सन् २०२२-
संक्रमण- ५४,७८४ जना
मृत्यु – ८८ जना
सन् २०२३
संक्रमण- ५२,७९० जना
मृत्यु- २९ जना
सन् २०२४ अगष्ट २३ सम्म
संक्रमण- ५,११९ जना
मृत्यु- ३ जना
– सन् २०२२ मा भदौ र असोज २ महिनामा साढे २७ हजारमा डेंगी संक्रमण
-सन् २०२३ मा भदौ र असोज २ महिनामा १७ हजारमा डेंगी संक्रमण
७५३ स्थानीय सरकार खोई ?
संघीय सरकार र ७ प्रदेश सरकार खोई ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२२ मा ५४ हजार ७ सय ८४ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसमध्ये ८८ जनाको मृत्यु भयो । सन् २०२३ मा ५२ हजार ७ सय ९० जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसमध्ये २९ जनाको मृत्यु भयो । सन् २०२४ अगष्ट २३ सम्मको तथ्यांक हेर्ने हो भने अहिलेसम्म ५ हजार १ सय १९ जनामा डेंगु संक्रमण देखिएको छ भने ३ जनाको मृत्यु भैसकेको छ ।
हाल देशका ७५ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी तनहुँमा १ हजार ४५ जनामा देखिएको छ । हुम्ला र मुस्ताङमा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।
कुन प्रदेशमा कति छन् डेंगु संक्रमित ?
कोशी ७०६
मधेश ७९
बागमती १३७७
गण्डकी २१८२
लुम्बिनी ३८९
कर्णाली ७१
सुदूरपश्चिम ३१५
अहिलेकै तथ्यांक हेर्दा संक्रमितको संख्या गत वर्षको भन्दा कम देखिन्छ । तर सन् २०२२ मा भदौ र असोज दुई महिनामा साढे २७ हजारमा डेंगु संक्रमण भएको थियो । सन् २०२३ मा भदौ र असोज दुई महिनामा १७ हजार जनामा डेंगु संक्रमण देखिएको थियो । त्यसैले अहिले संक्रमण कम देखिए पनि डेंगु संक्रमण ह्वात्तै बढ्ने अनुमान इपिडिमियोलोजीको छ । त्यसको लागि सरकारले पूर्वतयारीको काम बर्खा नलाग्दै गर्नु पर्ने हो । तर ७५३ स्थानीय सरकार अझै ब्यूँझिएको छैन ।
प्रदेशका सातै सरकार स्थानीय र संघीय सरकारले काम गरिहाल्छन भनेर टुलुटुलु हेरिरहेको छ ।
अनि संघीय सरकार विश्वकै लागि डेंगु चूनौतीपूर्ण भएकाले संक्रमणलाई शून्यमा झार्न सक्ने अवस्थामा नभएको भनेर अहिल्यै हात उठाएर आत्मसमर्पण गर्ने शैलीमा प्रस्तुत भइरहेको छ ।
डेंगु, संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रमण हो । डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग हुने लगायतका समस्या हुन्छ । सामान्यतया ९० प्रतिशत व्यक्तिमा डेंगी संक्रमणको लक्षणहरु देखिँदैन ।
तर रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिलाको भने ज्यानै समेत लिन सक्छ । त्यसैले तीनै तहको सरकारले डेंगी संक्रमण नियन्त्रणका लागि उल्लेख्य काम गर्न र नागरिकले पनि आफ्नो तबरबाट डेंगुबाट बच्न सावधानी अपनाउन जरुरी देखिन्छ ।
प्रतिक्रिया