समाज

मेलम्चीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

हिमालय टिभी
२०८१ माघ ३० गते १७:३३
मेलम्चीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

काठमाडौं : संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौंमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्ने गरेका छन् ।

बुधबार काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा बबरमहल वरपरका सरकारी कार्यालय डुबानमा परे ।

विशेष अदालतको सुनुवाइ प्रभावित नै हुन पुग्यो । यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध भएको छ ।

मेलम्ची खानेपानीको मुख्य पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवन जलमग्न बने । त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म बाढी नै आयो । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरू डुबे भने अवतजावतमा पनि समस्या भयो । सडकमा यातायात समेत प्रभावित भयो छ ।

मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका अनुसार नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको हो । मेलम्चीको पाइप पहिलोपटक फुटेको होइन ।

काठमाडौं उपत्यकामा यस्ता घटना पटकपटक भएका छन् । एकीकृत सहरी विकास योजनाको अभाव, पूर्वाधार विकाससम्बन्धी काम, विभिन्न मन्त्रालय र निकायमा बाँडिनु, ‘युटिलिटी कोरिडोर’सम्बन्धी ऐन कानुनको अभावजस्ता कारणले यस्ता घटना हुने गरेको पाइएको छ ।

सरकारी कार्यालयहरूबीच समन्वय नहुँदा सडक विभागले कालोपत्रे गरेको केही दिनमै कहिले खानेपानी मन्त्रालयले सडक खन्ने, कहिले ढल निकासका लागि खन्ने त कहिले दूरसञ्चार र बिजुलीसम्बन्धी कामका लागि सडक खनिँदा काम पनि गुणस्तरीय नहुने र पाइप र ढल फुट्ने, तारहरू काटिनेजस्ता समस्या आउने गरेका छन् ।

यी समस्याको सम्बोधन गर्न ‘युटिलिटी कोरिडोर’को अवधारणा अगाडि सारिए पनि त्यो लागू हुन सकेको छैन । यसबाहेक पाइप जडानका क्रममा राम्रोसँग फिटिङ नभएर पाइप फुट्ने गरेका छन् । पाइपमा पानीको चाप बढी हुँदा पनि फुट्ने गरेको छ । जाडोयाममा पाइप खुम्चिने र गर्मीयाममा पाइप फुक्ने कारणले पनि पानीको पाइप फुट्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *