स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार लागिपरेहको छ : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमामा चुनौती देखिए पनि यसलाई हटाउनेभन्दा पनि सुधारोन्मुख बनाइने बताउनुभयो । मन्त्री पौडेलले समग्र उपचार प्रणालीलाई नै व्यवस्थित गर्न विद्युतीय प्रणालीलाई बलियो बनाउन मन्त्रालय लागिपरेको जानकारी दिनुभयो ।
संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले थोक औषधि व्यवसायीले औषधिको खरिद, भण्डारण, वितरण गुणस्तरताको सुनिश्चितता, स्वास्थ्य सेवा प्रदायकलाई निरन्तर औषधि उपलब्ध गराउने, औषधिको मूल्य स्थिर र सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले संशोधनको क्रममा रहेको औषधि ऐनमा औषधि थोक व्यवसायीको हितका कुरा समेटिनुपर्ने धारणा राख्नुभयो ।
संघको महाधिवेशनले गणेश नेपालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष माधब अधिकारी, उपाध्यक्ष विनोद कार्की चयन हुनुभएको छ । यस्तै महासचिवमा राजेन्द्र थापा। सचिवमा गोपाल अधिकारी
र कोषाध्यक्षमा दिपेश बस्याल चुनिनुभयो। सदस्यहरुमा सुनिल कुमार बैद्य, चन्द्रसिंह चौधरी, गौरभ कार्की, निरज विक्रम राणा, रुद्रनारायण महल र सुरज श्रेष्ठ चयन हुनुभयो ।
प्रतिक्रिया