एआईले डुबाउला !
काठमाडौं : के तपाईंले कुनै नेताले अरू दलका नेतालाई खुलमखुला गाली गरेको भिडियो देख्नु भएको छ? वा कुनै नायिकाको अश्लील भिडियो? इन्टरनेटमा कुनै उच्च अधिकारीको पत्याउनै नसकिने भाषा, हाउभाउ, र शैलीको भिडियो भेट्टाउनु भएको छ? वा नेताहरूको दुरुस्तै श्वरमा गाइएको गीत सुन्नुभएको छ? यदि तपाईंले यस्ता भिडियो र सामग्रीहरू देख्नुभएको छ भने, बेलैमा सचेत बन्नुहोस्।
यी सबै वास्तविक होइनन्, प्रविधिको अत्याधुनिक प्रयोग, विशेष गरी कृत्रिम बौद्धिकता एआई, मार्फत निर्माण गरिएका हुन्। विश्वभर लोकप्रिय हुँदै गएको एआईको दुरुपयोगले यस्ता नक्कली सामग्रीहरू उत्पादन गर्ने क्रम बढेको छ।
२०८० वैशाख २४
भक्तपुरको सनसाइन नेसनल स्कुलमा विज्ञान विषय पढाउँदै आएका भक्तपुरका २८ वर्षीय अतुल प्रजापति पक्राउ
आरोप : विद्यार्थीको तस्वीर एआईबाट अश्लिल बनाएर सामाजिक सञ्जालमा अपलोड
२०८१ जेठ २५
काठमाडौंका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको एआईबाट निर्माण गरेको आपत्तिजनक भिडियो सामाजिक सञ्जालमा पोष्ट
१. गत वैशाख २४ गते भक्तपुरको सनसाइन नेसनल स्कुलमा विज्ञान विषय पढाउँदै आएका भक्तपुरका २८ वर्षीय अतुल प्रजापतिलाई प्रहरीले पक्राउ गर्योर । विद्यार्थीको तस्वीरलाई एआईबाट अश्लिल बनाएर सामाजिक सञ्जालमा अपलोड गरेको आरोपमा उनी पक्राउ परे ।
२. जेठ २५ मा काठमाडौंका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको एआईबाट निर्माण गरेको आपत्तिजनक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा एक जना पक्राउ परे ।
यी केही प्रतिनिधि घटना हुन्, जसले प्रविधिको गलत प्रयोगले विद्यार्थी, महिला, र भिआईपीहरूलाई कसरी शिकार बनाइरहेको छ भन्ने देखाउँछ। एआई प्रविधि र त्यसमा विश्वभर भइरहेको परीक्षणको फाइदा उठाउँदै, कतिपयले यसलाई गलत उद्देश्य राखेर बदनाम गर्ने हतियार बनाएका छन्। नेपालमा वैशाख र जेठ महिनामा भएका यी दुई घटनाहरूले यससम्बन्धी कानून नबनाए भविष्यमा ठूलो समस्या निम्तिन सक्ने संकेत दिएका छन्।
पोर्नोग्राफी साइटहरूमा यो प्रविधिको दुरुपयोग वर्षौँदेखि भइरहेको भएपनि हाल चर्चित कलाकार र नेताहरू यसको प्रमुख शिकार बन्न थालेका छन्। केहीसमयअघि एआईबाट अभिनेत्री अदिती बुढाथोकी, आँचल शर्माको नक्कली भिडियो बनाइएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट गीत गाएको एआईबाट विभिन्न सामग्री बन्ने गरेका छन् । यसलाई मनोरञ्जनसम्म मान्दा ठीक भएपनि भविष्यमा नेताको आवाजलाई गलत तरिकाले प्रयोग गरेर चरित्र हत्या हुने जोखिम पनि बढ्दै गएको छ ।
यद्यपि, हालसम्म एआईको दुरुपयोग सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नेपालमा छैन। नेपालमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार, यस प्रकारको कसुरमा ५ वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुनसक्छ। तर, एआईको दुरुपयोगको बढ्दै गएकाले यससम्बन्धी कानूनको आवश्यकता अपरिहार्य बनेको छ ।
कसरी पत्ता लगाउने एआई सामग्री ?
डिपफेक एआई प्रविधि प्रायः अनुहार र आँखाको स्थिति हुबहु उतार्न असफल हुने गरेको छ। विशेषगरी, भिडियोमा देखिएका व्यक्तिको परेला झिम्क्याइलाई हेरेर पनि एआईबाट निर्मित सामग्री हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ। त्यस्तै, व्यक्तिको रङ, बोलिएका शब्द, र हाउभाउका आधारमा पनि एआईको दुरुपयोग पत्ता लगाउन वा शंका गर्न सकिन्छ।
नेपालमा कृत्रिम बौद्धिकताको प्रयोग र दुरुपयोगलाई सम्बोधन गर्न, सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको ‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग तथा अभ्याससम्बन्धी अवधारण–पत्र’मा आगामी ६ महिनामा राष्ट्रिय नीति, एक वर्षमा राष्ट्रिय रणनीति, र दुई वर्षभित्र छुट्टै ऐन बनाउन सिफारिस गरिएको छ। छिमेकी मुलुक भारत, चीन, बंगलादेश लगायतका ६९ देशले कृत्रिम बौद्धिकता सम्बन्धी रणनीति र कानुन तर्जुमा गरेका छन्, तर नेपालमा भने यस प्रकारको व्यवस्था अझै छैन।
प्रतिक्रिया