Main News

ओली सरकारका मन्त्री, कामभन्दा बढी गुमनाम (भिडियोसहित)

हिमालय टिभी
२०८१ भदौ ६ गते २०:२४
ओली सरकारका मन्त्री, कामभन्दा बढी गुमनाम (भिडियोसहित)

काठमाडौं : कांग्रेससहितको समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको ४० दिन पूरा भएको छ । स्थायी र शक्तिशाली सरकार बनेको ४० दिनमा के के हुन सक्थ्यो होला ? विकास, सुशासन वा सकारात्मक अनुभूति । के सरकारका मन्त्रीहरुले ४० दिनको सदुपयोग गर्न सके त ?

-हिन्दु र बौद्ध धर्ममा ४० दिनको ध्यान वा तपस्याले जीवन परिवर्तन गर्ने विश्वास गरिन्छ । ध्यानमा लिप्त हुनेहरु ४० दिनमा कुण्डलिनी योग जागृत गराउन सक्ने विश्वास गर्छन् र पछिल्लो समय यसको विश्वव्यापी अभ्यास हुन थालेको छ ।
-क्रिश्चियन धर्मका अनुयायीहरुसँग ४० दिनका कयौँ संयोगहरु छन् । र अभ्यास गर्नेहरुले ४० दिनको प्रार्थनापछि परमेश्वरबाट जवाफ मिल्ने विश्वास गर्छन् ।
-मुस्लिम धर्मावलम्बीहरुले सामान्यतया ३० दिने रोजा ब्रत बस्छन् र ब्रतलाई औपचारिकताबाट माथि उठाउन खोज्नेहरु ४० दिन ब्रत बसी सिद्ध हुन्छन् ।
-यसबाहेक ४० दिनको व्यवहारिक जीवन पद्धतिको सिद्धान्त छ पनि छ । खोजकर्ताहरु भन्छन् ४० दिनमा मानिस परिवर्तन हुन्छ । पुरानो बानी, व्यवहार र तौरतरिका त्याग्न २० लाग्छ र बाँकी २० दिन नयाँ कुरामा बानी पर्न । अतः ४० दिनले मानिसको व्यवहार परिवर्तन गर्छ ।

तर के सरकारका मन्त्रीहरुले यो ४० दिनलाई सदुपयोग गरे त ?

साउन १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान गरिबी र पछौटेपन बदल्ने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो । ओलीले भन्नुभएको थियो, ‘राजनीतिक अस्थिरताका कारण काम गर्ने वातावरण भएन भन्ने छुट कसैलाई पनि छैन ।’
साउन ३१ गते फेरि प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिनुपर्यो । दोस्रो निर्देशनमा उहाँले कीर्तिमान राख्ने काम गर्न र त्यसका लागि ठोस योजना ल्याउन भन्नुभयो । दोस्रोपटक त ओलीले मन्त्रीहरुलाई तीन महिने अल्टिमेटम नै दिनुभएको छ ।
यसको अर्थ हो मन्त्रीहरुले पहिलो १५ दिन र दोस्रो १५ दिन पनि कुनै काम गर्न, कामको खाका तयार पार्न सकेनन् । अर्थात् मन्त्रीहरुले आफूलाई दलको कार्यकर्ताबाट विकासको संवाहकका रुपमा बदल्न सकेनन् ।
अहिले सरकारमा राज्यमन्त्रीसहित २५ सदस्य छन् । जसमध्ये अधिकांश गुमनाम छन् । जसको नाम समाचारमा मेन्सन भइरहेको छ उनीहरु पनि केही न केही फण्डा गरेर पर्दाअगाडि देखिएका हुन् ।

एकपटक यी मन्त्रीहरु याद गर्नुहोस् ।

प्रदीप यादव, बलराम अधिकारी, दामोदर भण्डारी, नवलकिशोर साह सुडी, रामनाथ अधिकारी
राज्यमन्त्रीहरु अरुण कुमार चौधरी, रुपा विक, पूर्णबहादुर तामाङ
सम्भवतः उनीहरुको नाम तपाईँले नियुक्तिको दिनको समाचारयता सुन्न पाउनुभएको छैन ।
केही मन्त्रीहरु छन्, जसको नाम आइरहन्छ, तर नाम आउनुको कारण चाँहि काम होइन
प्रकाशमान सिंह, नियमित समाचार पठाउने संयन्त्रका कारण
विष्णु पौडेल, सेयर मार्केटदेखि अर्थतन्त्रका कुरा आउने भएका कारण
पृथ्वीसुब्बा गुरुङ, सरकारको प्रवक्ता भएका कारण
शरतसिंह भण्डारी, धेरैपटक मन्त्री बनेका र काम चाँहि कहिल्यै नगरेका कारण
आरजु राणा देउवा, भारत भ्रमणमा गएका कारण
प्रदीप पौडेल, तथानाम घोषणा र सम्झौताहरु गरिरहेका कारण
विद्या भट्टराई, सामाजिक सञ्जालबाट त्रिविका पदाधिकारीको सुरक्षा माग गरेका कारण
दीपक खड्का, स्वार्थ बाझिने मन्त्रालयको नेतृत्व गरेका कारण

के कुनै मन्त्रीले तपाईंको जीवनमा सम्बन्ध राख्ने कामको सुरुवात गरेको वा सम्पन्न गरेको सुन्नु भएको छ त ? पक्कै छैन ।

गृहमन्त्रीका रुपमा रमेश लेखक, स्वास्थ्यमन्त्रीका रुपमा प्रदीप पौडेल, शिक्षामन्त्रीका रुपमा विद्या भट्टराई र त्यसभन्दा बढी प्रधानमन्त्रीका रुपमा ओलीबाट केही आश गरिएको अवश्य थियो । तर यो ४० दिनको अवधिले कुनै सकारात्मक ऊर्जा दिन सकेन । तर सत्तापक्ष यस्तो मान्न तयारै छैन ।

न त काम गरेको भए लुकाउन मिल्छ, न काम नगरेको भए देखाउन मिल्छ । तै पनि सरकार सत्यको आँखामा छारो हाल्ने प्रयत्नमा भने देखिन्छ । समग्रमा भन्ने हो भने वितेको ४० दिनमा मन्त्रीहरुले खाली सरकारी पैसाको पेट्रोल सक्ने र कार्यकर्ता भेट्ने बाहेकको काम गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *