मर्यादा भुलेका उपप्रधानमन्त्री सिंह (भिडियोसहित)
काठमाडौं : केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको दोस्रो बरियताको उपप्रधानमन्त्री हुनुहुन्छ, प्रकाशमन सिंह । कांग्रेस सभापति शेरबहादुर देउवाको चाकडीले प्राप्त उपप्रधानमन्त्री पद र सहरी विकास मन्त्रालयको कार्यक्षेत्र विर्सिएका सिंह वडा वडामा पुगेर सामान्य कार्यक्रमको रिबन काट्ने र कुटनीतिज्ञ र सुरक्षा प्रमुखलाई मन्त्रालयमा बोलाएर गफ दिने गर्नुहुन्छ ।
यसले अरुको कार्यक्षेत्रको अभ्यास गर्ने प्रवृत्ति उहाँमा छ । जीवनको उत्तरार्द्धमा उपप्रधानमन्त्री पद उपहार पाउनुभएका सिंहमा देखिएको शक्तिको भोक उहाँकै लागी भारी पर्ने निश्चित छ ।
नाम : प्रकाशमान सिंह
पद : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री
कार्यालय : सहरी विकास मन्त्रालय, सिंहदरवार
काम : उद्घाटन अनि उद्घाटन, राजदूतहरुसँग भेट्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने
अतिरिक्त काम : बालमन्दिर प्रकरणमा जोडिएका आफन्त जोगाउने
आजकाल दैनिक जसो सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा उस्तै–उस्तै हेडलाईनको समाचार आउँछ । जनताको हित, संविधान संशोधन वा राजनीतिक स्थिरताका लागि एमाले–कांग्रेस गठबन्धन : उपप्रधानमन्त्री सिंह ।
साउन दुई गतेयता यो सिलसिला चलिनै रहेको छ । पछिल्लो पटक अधिक सक्रिय जस्तो देखिएका सिंहले आलोचनाबाट बच्न आफुलाई आइडिया र सुझाव दिन समेत भन्न भ्याउनुभएको छ ।
यो त सामान्य नै भयो ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री केपी शर्मा ओली पछिको दोस्रो बरियताको उपप्रधानमन्त्री हुनुहुन्छ ।
ओली सरकारले स्थिरता र आर्थिक चलायमानको विषयलाई प्रधान बनाएको सन्दर्भमा सिंह पनि सो अभियानमा सामेल हुनु स्वभाविक हो । तर सिंह त्यसो गर्दै हुनुहुन्न । दुई तिहाइ मतसहितको शक्तिशाली सरकारको दोस्रो बरियताका सिंह पदको ओज र गरिमा कायम गर्नेगरी काममा हुनुहुन्न ।
उहाँ त वडा तहका कार्यक्रममा रिबन काट्नेदेखि आफु नै प्रधानमन्त्री भएजसरी राजदुत भेट्नेतिर पो बढी केन्द्रीत हुनुहुन्छ । के सिंह परराष्ट्र मन्त्री हो ? होइन । उहाँ सहरी विकास मन्त्री हो । पार्टी सभापति शेरबहादुर देउवाले उतरतरार्द्धमा सम्मान स्वरुप उपप्रधानमन्त्रीको अवसर दिनुभएको मात्रै हो ।
सिंहकै रोइलो र महाधिवेशनमा लगाएको गुन तिर्नका लागि । तर उहाँ वडाका कार्यक्रममा बरालिने र राजदुतहरुसँग चिया खाने काममा दिन काट्दै हुनुहुन्छ । यो हेरेपछि यहाँलाई लाग्यो होला सिंहले मुलुकको सिंगो कुटनीति धानिरहनुभएको छ । त्यसो होइन । उहाँले त मुलुकको कुटनीतिमाथि भद्दा मजाक गरिरहनुभएको छ ।
कुटनीतिक च्यानल मार्फत् राजदुतहरुसँग आफ्नो मन्त्रालयका योजनामा सम्बन्धित देशले गरेका लगानी वा सहकार्यबारे जानकारी लिनु त स्वभाविक होला । परराष्ट्रमन्त्री र मन्त्रालय अनि स्वयं प्रधानमन्त्रीबाहेकले यस्तो अभ्यास गर्नु अस्वभाविक सक्रियता बाहेक केही होइन ।
देउवाको चाकडी र देउवालाई नै धम्की दिएर उपप्रधानमन्त्री पद हत्याउन सफल सिंह यही मौका छोपेर कुटनीतिक च्यानमा खेल्ने अभ्यासमा हुनुहुन्छ । त्यति मात्रै होइन उहाँमा गृहमन्त्रीले गर्ने कामको समेत अभ्यास गर्ने उत्कट चाहना छ ।
यो संशोधित स्टाटस हो । उहाँले सुशरुमा तीनवटै सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएको र निर्देशन दिएको भन्नुभयो । चर्को आलोचनापछि उहाँको स्टाटस संशोधित भएको हो ।
सिंह कांग्रेसका वरिष्ठ नेता मध्ये हुनुहुन्छ । तर पछिल्लो समय निर्णायक बन्न नसकेका सिंह पदका लागि मरिहत्ते गर्ने नेतामध्येमा पर्नुहुन्छ । र सभापति देउवालाई प्रभावमा पारेर मन्त्री बन्नुभएका सिंह सामान्य कार्यक्रममा पुग्ने, झण्डावाला गाडीमा हुइकिने र शक्ति अभ्यास गर्नेबाहेक आशातित काम गर्न सक्नुभएको छैन ।
बालमन्दीर जग्गा प्रकरणमा जोडिएका आफन्त जोगाउनेबाहेक सिंहबाट अरु आशा गर्न सकिने कुनै गतिविधि अनुभुति हुन सकेको छैन ।
प्रतिक्रिया