समाज

गाईजात्रामा काठमाडौंको वसन्तपुरमा देखिएको पृथक दृश्य (भिडयोसहित)

Gaijatra

हिमालय टिभी
२०८१ भदौ ४ गते २०:४२
गाईजात्रामा काठमाडौंको वसन्तपुरमा देखिएको पृथक दृश्य (भिडयोसहित)

काठमाडौं : दिवंगत आफन्तलाई सम्झदा, सबैको आँखामा आँशु आउँछ । सम्हालिन गाह्रो हुन्छ । तर गाइजात्रा यस्तो पर्व हो, दिवंगत आफन्तलाई सम्झनकै लागि बाजा बजाइन्छ, गाइन्छ, नाचिन्छ अनि आफन्तको आत्माको चीर शान्तिको कामना गरिन्छ ।
काठमाडौंको बसन्तपुरमा आज दिवंगत आफन्तको सम्झनामा निकालिएको सांस्कृतिक गाइजात्रामा देखिएका केही पृथक दृश्य हामीले समेटेका छौं।
गाईजात्रा निकाल्दा गाईलाई अघि लगाएर जात्रा निकाल्ने र गाई नभएमा कुमार केटालाई गाई जस्तै बनाएर अघि लगाइने प्रचलन छ ।

विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोशाक लगाएर बाजागाजा र आफन्तको तस्बिरसहित जात्रामा समावेश हुने गरिन्छ । राजा यमराजलाई पुज्ने पर्व गाइजात्रामा बसन्तपुरमा केही फरक दृश्यहरु देखिए । बसन्तपुरमा गाईजात्रा मनाउन पुगेकाहरु, आफन्तको तस्विर लिएर मात्रै होइन, धिमेबाजासहित लाखे नाच लिएर पुगेका थिए । दिवंगत आफन्तको सम्झनामा गीत गाउँदै परिवारजनले आफन्तसँग विताएका पलहरुको याद समेत गरे ।
वर्षभरिमा मृत्यु भएकाको सम्झनामा नेवार समुदायले गाइजात्रा निकाल्छन । जात्रामा नेवार समुदायकै व्यक्तिको उपस्थिति बाक्लो हुन्छ । तर अन्य समुदायका व्यक्तिको उपस्थिति पनि कम देखिएन । आफन्तको सम्झना गर्दै अनुहारमा विभिन्न रंग दलेर जात्रा निकाल्नेहरु पनि देखिए ।

धेरैजसो गाईको स्वरुप बनाएर, मृतक आफन्तको फोटोसहित बसन्तपुर दरबार क्षेत्र पुग्दा कोही भने गाईसहित बसन्तपुर पुगेका थिए । मृतक आफन्तको सम्झनामा कोही राधा, कृष्णको अवतारमा पुगेका थिए भने कोही ऋषीको आवरणमा गाईजात्रामा देखिए । जोजसरी जात्रा मिसिए पनि सबैको एउटै उद्देश्य थियो- मृतकको चीर शान्तिको कामना ।

गाईजात्रामा यौनिक तथा लैंगिक अल्पसंख्यकले बसन्तपुरमा प्राइड परेड आयोजना गरे । उनीहरूले प्रत्येक वर्ष गाइजात्रालाई आफ्नो गौरवपूर्ण दिनको रुपमा लिन्छन । राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युका कारण रानी शोकमा डुवेपछि, दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जात्रा चलाएको विश्वास गरिन्छ । त्यसले अहिले पनि निरन्तरता पाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *