Main News

रुसी सेनामा थप एक जना नेपालीको मृत्यु , सरकार मौन (भिडियो रिपोर्टसहित)

२०८० माघ ९ गते १७:३७
रुसी सेनामा थप एक जना नेपालीको मृत्यु , सरकार मौन (भिडियो रिपोर्टसहित)

९ माघ २०८० मोरङ । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।

सरकारको कूटनीतिक असक्षमताका कारण रूस–युक्रेन युद्धमा घाइते र बन्धकको अवस्था अहिलेसम्म अज्ञात छ । ११ जनाभन्दा बढी नेपालीको मृत्यु भइसक्दा सरकारले एउटै शव फिर्ता ल्याउन सकेको छैन । विदेश जाने हुटहुटी र विचौलियाको प्रभावमा परी युद्धमा भाडाका सिपाही बनेर रुस पुगेकाको अवस्थाका बारेमा जानकारी दिलाइदिन सरकारसमक्ष आफन्तले आग्रह गरिरहेका छन् ।

नेपालबाट पाँच सयको हाराहारीमा युवा रुसी सेनामा गएको सरकारको अनुमान छ । तिमध्ये १२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने कयौं घाइते भएका छन् । कतिपयको अवस्था अझै अज्ञात छ । मोरङको लेटाङ नगरपालिकाबाट मात्र २० जनाभन्दा बढी युवा त्यहाँ पुगेका छन् ।

ती मध्ये एक हुन लेटाङ नगरपालिका –३ का ३३ वर्षिय विकास राई । जो नाबालक छोरा छोडेर गत भदौमा गाउँकै साथीको सम्पर्कमा रूस गएका थिए । केहि दिनको आर्मीको तालिमपछि राम्रो कमाई हुने प्रलोभनमा विकास विचौलियालाई आठ लाख बुझाएर कात्तिक ४ गते दुबई हुँदै मस्कोतर्फ लागे । मंसिर २५ गते युक्रेनी सेनाको कब्जामा रहेको भन्ने खबर प्राप्त भयो । तर, त्यसपछि विकाससँग परिवारको सम्पर्क भएको छैन ।

विकास जस्तै सोही वडाका ३९ वर्षीय टीका गुरुङको आफनै मोटरसाइकल ग्यारेज थियो । करिब ६ बर्षसम्म ग्यारेज चलाएका टीका पछिल्लो समय आम्दानी राम्रो हुन छाडेपछि ग्यारेज बेचेर विकास जसरी नै रुसतर्फ लागे । टीका पनि अहिले परिवारको सम्पर्कमा छैनन् ।

कात्तिक ४ मा काठमाडौंबाट रूसी सेना भर्ती हुन उडेका लेटाङ–२ का सुरज मग्राती केही दिनअघि घाइते भएको खबर आयो । रूस र युक्रेन युद्धका क्रममा युक्रेनी सेनाको गोली लागेर सुरज घाइते भएको अपुष्ट खबर आएको छ । सुरजले एक अडियो सन्देशमा आफूलाई गोली लागेको र अस्पतालमा उपचाररत रहेको भनेका छन् । तर उनी अहिले कुन अबस्थामा छन् भन्ने कसैसंग जानकारी छैन । रुस र युक्रेनको लडाईका मैदानमा होमिएका आफना परिवारका सदस्य लामो समयदेखि परिवारको सम्पर्कमा नआएपछि उनीहरुका परिवारजन भने बिलखबन्दमा परेका छन् ।

अबैध मार्गबाट रुसी सेनामा गएका कतिपय आफन्तले प्रहरीमा निवेदन दिन आँट गरेका छैनन् । उनीहरुले स्थानीय र नेपाल सरकारले केही गरिदियोस् भन्ने चाहेका छन् ।

रुसी सेनामा रहेका युवाले उद्दारको माग गरे पनि परराष्ट्र मन्त्रालयले पहल गर्न सकेको छैन । केही सयम अघि परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गर्नुभएको थियो । तर, रुसबाट कुनै आधिकारिक जानकारी आएको छैन ।

यद्यपी आफ्ने देश संलग्न नभएको युद्धमा भटाभट नेपाली युवा मारिनु र त्यसको रोकथामका लागि सरकारले पहल नगरी उल्टै जागिर खाने बहनामा देशको कानून उल्लंघन नगर्न प्रधानमन्त्रीको गैरजिम्मेवार अभिवयक्तिले बन्धक बनेका नेपालीको परिवारलाई आहत भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *