Main News

भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने

हिमालय टिभी
२०८० माघ ९ गते १७:२५
भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने

९ माघ २०८० काठमाडौं । सरकारले भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ ।

गृह मन्त्रालयले आज १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै भिजिट भिसामा कुनै पनि देशको सेनामा भर्ना नहुन सचेत गराएको हो ।

सरकारले जारी गरेको एडभाइजरीमा भिजिट भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिमा संलग्न भएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको हो ।

पछिल्लो समय भिजिट भिसामा रुस र युक्रेन गई त्यहाँको सेनामा नेपालीहरु भर्ना हुन थालेपछि सरकारले यस्तो बताएको हो । ट्राभल एडभाइजरीमार्फत् त्यसरी विदेशी सेनामा भर्ना हुँदा व्यक्ति स्वयं नै जिम्मेवार हुने उल्लेख छ ।

यस्तै भारत र बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुनेबाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्णरूपमा गैरकानुनी र राष्ट्रहित विपरीत रहेको एडभाइजरीमा उल्लेख छ ।

यस्तै सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । भिजिट भिसामा विदेश जाने यात्रुहरूले ६ महिनाको वैध राहदानी, दुईतर्फी हवाई टिकेट, होटल बुकिङ र ५ सय अमेरिकी डलरको सटही अनिवार्य बोक्नुपर्ने छ।

कसैको निमन्त्रणा भएमा डलर सटही आवश्यक छैन । संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा यात्रुले अनिवार्य स्वघोषणा फारम भर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *