Main News

पार्किङमा रोक लगाउने निर्णयविरुद्ध न्युरोडका व्यवसायी आन्दोलित

हिमालय टिभी
२०८० माघ ९ गते १३:३२
पार्किङमा रोक लगाउने निर्णयविरुद्ध न्युरोडका व्यवसायी आन्दोलित

्९ माघ २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् ।

उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् । महानगरपालिकाले आज देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको बताउनुभयो । यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ । अब अन्य क्षेत्रका सडकमा पनि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको महानगरपालिकाले जनाएको छ ।

यसबाट न्युरोड क्षेत्र सुन्दर देखिने र सवारी आवागमन पनि सहज हुने अपेक्षा छ । तर न्युरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै निर्णय सच्याउन माग गरेका छन् । यसअघि महानगरपालिकाले दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ ।

यसैगरी नगर प्रहरीहरू खटाएर पार्किङ गर्न आउनेलाई कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी गराएको छ । वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु भने नगर प्रहरीले उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *