एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन
प्रतिबद्धता पूरा गर्न विकसित देशलाई आह्वान

२ असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अतिकम विकसित देशका पक्षमा अन्तर्राष्ट्रिय समुदायले गरेका प्रतिबद्धता कार्यान्वयनमा जोड दिनुभएको छ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय समुदायले गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिनुभएको हो।
उहाँले कोभिड महामारी, जलवायु परिवर्तन र भू–राजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटले अतिकम विकसित देशको प्रगतिलाई थप जोखिममा धकेलिरहेको भन्दै यसबाट उम्कन उद्दार योजना जरुरी रहेको बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औल्याउनु भयो।
अतिकम विकसित देशले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले एसडीजी प्रोत्साहन प्याकेज मार्फत् अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, अतिकम विकसित राष्ट्रहरूको ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
२ वर्षअघि राष्ट्र संघको विकास नीति समिति सीडीपीले नेपाललाई अति कम विकसित मुलुकहरू एलडीसीको श्रेणीबाट माथि उक्लनका लागि सिफारिस गरेको थियो ।
राष्ट्रसंघका अनुसार अतिकम विकसित मुलुकहरुमा आर्थिक सामाजिक रूपमा पछि परेका र मानव विकास सूचकांमा पछि परेका मुलुक पर्छन् । समितिले सन् २०२६ पछि नेपाल एलडीसीको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको हो ।
प्रतिक्रिया